दोलखामा एमालेकाे पल्लाभारी

 आवाज संवाददाता     ५ जेष्ठ २०७४, शुक्रबार

दोलखा, ५ जेठ
स्थानीय तहको निर्वाचनको दोलखामा एमालेकाे पल्लाभारी भएको छ । दोलखाको २ नगरपालिका र ७ गाउँपालिका मध्ये अधिकाशंमा एमालेले जित हाँसिल गरेको छ । शुक्रवार भएकाे घोषणाकाे मत परिणाम अनुसार नेकपा एमालेले भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा जित हाँसिल गरेको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी गठबन्धनले वैत्यश्वर गाउँपालिका र विगू गाउँपालिकामा मात्र जित हाँसिल गरेको छ । यि दुई गाउँपालिकामा काँग्रेसको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष निर्वाचित भएका छन् ।
मत परिणाम अनुसार जिरी नगरपालिकामा एमालेका तर्फबाट मेयर टंक जिरेल र उपमेयर कृष्णकुमारी बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै शैलुङ गाउँपालिकामा एमालेकै अध्यक्षमा भरत दुलाल र उपाध्यक्षमा लालमाया तमाङ विजयी भएका छन् । गौरीशंकर गाउँपालिकामा अध्यक्षमा स्वयम् खड्का र उपाध्यक्षमा उर्मिला थामी विजयी भएका छन् । तामाकोसी गाउँपालिकामा अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्षमा उर्मिला खड्का निर्वाचित भएका छन् ।
कालिञ्चोक गाउँपालिकामा एमालेकै अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक विजयी भएका छन् । भीमेश्वर नगरपालिकाको मेयरमा भरत केसी र उपमेयरमा कमला बसनेत निर्वाचित भएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतबाट सथत लिए लगत्तै शुक्रबारै पद बहाली गरेका छन् । उनीहरुले पहिलो निर्णय भीमेश्वर नगरपालिकाको गुरु योजना बनाएर काम गर्ने निर्णय गरेका छन् ।
वैत्यश्वर गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका छवि लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन् । त्यस्तै विगू गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका युधिष्टिर खड्का र उपाध्यक्षमा माओवादी केन्द्रका सञ्जिव ओली निर्वाचित भएका छन् ।
त्यसैगरी मतपेटिका तोडफोड भएपछि स्थगित भएको मेलुङ गाउँपालिका १ पवटीको निर्वाचन जेठ ७ गते हुने भएको छ । निर्वाचन आयोगले उक्त निर्वाचन ७ गतेको लागि तोकेको हो । उक्त गाउँपालिकाको मतगणना सुरु हुन सकेको छैन । दोलखाको ७४ वटा वडा मध्ये ६७ वटाको मतगणना पूरा भएको छ । वडाहरुमा पनि एमालेकै उम्मेद्वार बढी निर्वाचित भएका छन् । एमालेले ३९, नेपाली काँग्रेसले १८ वटा र माओवादी केन्द्रले १० वटा वडामा जित हाँसिल गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।