पवटीमा किरियापुत्रीदेखि दृष्टीविहिनसम्मले मतदान गरे

 आवाज संवाददाता     ७ जेष्ठ २०७४, आईतवार

दोलखा, ७ जेठ
दोलखाको मेलुङ गाउँपालिका १ पवटीको मतदान केन्द्रमा किरियापुत्रीदेखि दृष्टिविहिनसम्मले मतदानमा भाग लिए । पहिलो चरणको निर्वाचन बैशाख ३१ मा हुलदंगा हुँदा प्रहरीको गोली लागेर एकको मृत्यु भएपछि स्थगित भएको मतदान प्रक्रिया आइतबार पुनः सञ्चालन भएको छ ।
उच्च सुरक्षा सतर्कताका बीच भएको मतदान कार्यक्रममा बैशाख ३१ गते सोही केन्द्रमा प्रहरीको गोली लागेर मृत्यु भएका डम्बर भुजलेका परिवारले समेत मतदान गरे ।
मृतक भुजेलकी आमा हरीमाया भुजेल र श्रीमती लक्ष्मी भुजेल तथा ठुलीमाआमा धनमाया भुजेल, दाई अर्जुन भुजेल र भाई रामचन्द्र भुजेलले मतदान गरेका हु्न । कोरामा बसेका भुजेलको परिवारजन मतदानका लागि दिउँसो करिव साँढे २ बजे मतदान केन्द्र सत्यश्वर मावि पुगेका थिए ।
स्थानीय तहको निर्वाचनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत पवटिका ३५ बर्षिय नक्कुल भनिने डम्वरवहादुर भुजेलको शव शुक्रबार मात्रै परिवारजनले बुझेका थिए । बैशाख ३१ गते पवटी मतदान केन्द्रमा भएको विवादपछि प्रहरीले चलाएको गोलि लागेर मृत्यु भएका भुजेलको शव ६ दिनपछि आफन्तले बुझे । भुजेल नेपाली काँग्रेस आवद्ध कार्यकर्ता हुन् । मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएकाले ति पार्टी आवद्ध नेता तथा कार्यकर्ता र स्थानीयवासीले पवटीमा शवयात्रा गरेका थिए ।
पवटीको सोही मतदान केन्द्रबाट ५ जना क्रियापुत्रीले समेत मतदान गरेका छन् । आफ्नो आमाको मृत्युको शोकमा रहेका मेलुङ गाउँपालिका १ पवटीका सुर्य बहादुर बस्नेत, ललित बस्नेत, भक्तबहादुर बस्नेत, दान बहादुर बस्नेत र रमेश बस्नेतले मतदान केन्द्रमा पुगेर मत दिएका हुन् । बैशाख ३१ गते भएको निर्वाचनमा पनि सहभागि भएका उनीहरु क्रियापुत्री बसेका बेलामा पनि पुनः मतदानमा सहभागि भएका हुन् । उनीहरुको आमा हेमकुमारी बस्नेतको जेठ २ गते मृत्यु भएको थियो । उनीहरु नेकपा एमाले आवद्ध कार्यकताहरु हुन् ।

दृष्टिविहिनको पनि मतदान
पवटीमा एक दृष्टिविहिन महिलाले पनि मतदान गरेकी छिन् । दृष्टिबीहिन ३४ वर्षीया हरिमाया ओलीले पनि आज दिउँसो मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
बैशाख ३१ गते स्थानीय तह निर्वाचनको दिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ३५ बर्षिय नक्कुल भनिने डम्बर बहादुर भजुलेको मृत्यु हुनुका साथै एक दर्जन बढीं घाईते भएका थिए । मतपेटिका खोस्ने र फ्याँकेपछि प्रहरीले बाध्य भएर गोली चलाउनु परेको जनाएको छ ।
आइतबार पुनः भएको मतदानका लागि मतदाताहरुलाई प्रभावित पार्न जिल्लाभरका काँग्रेस र एमालेका नेताहरु अघिल्लो दिनै पवटी पुगे तापनि आइतबार विहानै फर्केका छन् । बाहिरका मान्छेहरुको उपस्थितिले थप तनाव हुने ठहरपछि स्थानीयस्तरमा बसेको सर्वदलीय बैठकको निर्णय अनुसारै उनीहरु जिल्ला सदरमुकाम फर्केका हुन् । चुनावका लागि नै सांसद र नेताहरु ठूलो दलबल सहित पवटी पुगेका थिए । कुल ३ हजार ६ सय मतदाता रहेको पवटीमा आइतबारको मतदानमा २ हजार ३७७ मत खसेको छ ।

तस्बिर सौजन्यः सन्तोष विमली

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।