राखेको ठाउँको मतपेटिका साटिएको आशंकामा मतगणना रोकियो

 आवाज संवाददाता     ८ जेष्ठ २०७४, सोमबार

दोलखा, ८ जेठ
मतपेटिका थन्क्याएर राखेको कोठा खुला भएको र मतपेटिका परिवर्तन भएको भन्दै कांग्रेस र माओबादीले असहमति जनाएपछि दोलखाको मेलुङ गाउँपालिकाको मतगणना रोकिएको छ ।

मेलुङको केन्द्र साविकको भेड्पु गाविसमा मतपेटिका थन्क्याएर राखिएको कोठाको भित्री ढोका नै खुल्ला भएकोले मतपेटिका साटिएको हुन सक्ने आशंकाले मतगणना सुरु हुन सकेको छैन । ढोका खुल्ला भएकाले त्यहाँ संकाष्पद काम भएको हुन सक्ने भन्दै काँग्रेस माओवादीले विरोध गरेका छन् ।

मतगणना सम्बन्धि विवाद चुलिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा र दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालको टोली अहिले मेलुङ गाउँपालिकाको केन्द्र भेडपु पुगेका छन् । मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी आएपछि सर्वदलीय बैठक राखेर
समस्या समाधान गर्ने प्रयास भइरहेको नयाँ शक्ति नेपालको तर्फबाट मेलुङ गाउँपालिकाका अध्यक्षका उम्मेद्वार
भक्त थोकरले जानकारी दिए ।
मेलुङ गाउँपालिकाको वडा नं. १ सत्यश्वर मावि पवटी केन्द्रमा बेशाख ३१ गते मतदानका क्रममा झडप हुँदा प्रहरीको गोली लागि एकको ज्यान गएपछि त्यहाँ आइतबार पुनः मतदान भएको थियो । सबै मतदान पूरा भएपछि आइतबार रातीदेखि नै मतगणना सुरु गर्ने कार्यक्रम भए पनि अहिले मतपेटिका राखेको कोठाको ढोका खुल्लै भएकोले मतगणना सुरु हुन नसकेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF