पर्यटन विकासमा जुर्मुराए जिरीबासी, एसियाकै ठूलो हनुमानको मूर्ती स्थापना गर्ने

 आवाज संवाददाता     १५ असार २०७३, बुधबार

असार १५ लाई सरकारले धान दिवसको रुपमा देशभर मनाइ रहेको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा चिनिने असार १५ मा दहीच्यूरा खाएर पनि मनाउने नेपाली संस्कृति छ ।
दहीलाई शुभ साइतको कामको रुपमा लिने गरिन्छ । तर पर्यटकी नगरी जिरीबासीहरु यसपालीको दहीच्यूरा खाँदै पर्यटन विकासको योजना बनाउन खावाडाँडा भेला भए । पानी र हुस्सुमा रुज्दै भिज्दै उनीहरुले भेला गरी हनुमन्ते डाँडामा दक्षिण एसियाकै सबैभन्दा ठूलो हनुमानको प्रतिमा स्थापना गर्ने घोषणा गरे ।
युवा इन्जिनियर टिकाराम खड्काको पहलमा भएको भेलाले पूर्व सांसद इन्द्रबहादुर खड्का सहित जिरीदेखि युवादेखि प्रौढसम्मको ठूलो उपस्थिति थियो । सर्वदलीय रुपमा सबै दलका नेताहरुको समेत उपस्थित भेलामा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले जिरीको पुरानो पर्यटकीय गन्तव्यलाई कायम गर्न सबैले सक्दो भूमिका खेल्नु पर्ने बताए ।
पर्यटन विकासमा पूर्वाधार विकास र प्रचार प्रसारमा केन्द्रित गर्नु पर्ने उनले बताए । व्यवसायीहरु र हाम्रा योजना पर्यटन मैत्री हुनु पर्ने कार्कीले बताए । दोलखा उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन अन्र्तगत आलुलाई विकास गर्न लागेकोले आलु र पर्या पर्यटनले थप टेवा पुग्ने बताए ।
पूर्व सांसद खड्काले जिरीको पर्यटन विकासका लागि हनुमन्तेको प्राकृतिक मूर्ती हराए तापनि अर्को मूर्तीले त्यसको अभाव पुर्ती गर्नुपर्ने बताए । जिरी र जुँगूको सिमानामा रहेको हनुमन्तेडाँडा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि पनि महत्वपूर्णछ । खावा र बुलडाँडाबाट हनुमन्ते नजिकसम्म सडक सञ्जाल समेत पुगेको छ ।
कार्यक्रममा समाजसेवी टीकाबहादुर खड्का, जिरी नगरपालिकाका कार्यकारी अधिकृत मोहन श्रेष्ठ, नेपाली काँग्रेसका टंक जिरेल, एमाले अध्यक्ष मित्र जिरेल, नेकपा माओवादी केन्द्रका नवीन जिरेल, राप्रपा नेपालका रामकाजी खड्का र जिरी उच्च माविका प्रअ केशव कार्कीले योजना सफल पार्न सक्दो सहयोग गर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।