मेलुङ गाउँपालिकाको मतगणना गर्ने सहमती, भोलिदेखि गणना हुने

 आवाज संवाददाता     ८ जेष्ठ २०७४, सोमबार

दोलखा, ८ जेठ

मेलुङ गाउँपालिकाको मतपेटिका थन्क्याएर राखेको कोठा खुला भएको र मतपेटिका परिवर्तन भएको भन्दै कांग्रेस र माओबादीले असहमति जनाएपछि रोकिएको मतगणना कार्य भोलि विहानबाट सुरु हुने भएको छ ।
गत बैशाख ३१ गते मेलुङ गाउँपालिका वडा नं १ पवटीमा मतदानको क्रममा झडप हुँदा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि त्यहाँ यही आइतवार पुनः मतदान भएको थियो । पुनः मतदानपछि सो मतपेटिका राख्ने क्रममा कोठाको भित्री ढोका खुला भेटिएपछि विवाद चुलिएको थियो ।
सदरमुकाम चरिकोटबाट प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, दोलखास्थित सुरक्षा निकायका प्रमुखहरुसहित सर्वदलीय बैठक बसी सहमती गरेका हुन् । सहमतीपछि भोलि बिहानबाट मतगणना हुनेछ ।
असावधानीका कारण मतपेटिका थन्क्याएको कोठाको भित्रपटिको कोठाको ढोका खुला भएपनि मतपेटिकाको शील दुरुस्त भएको तर निर्वाचनको टोली स्थानीय भएकोले सदरमुकामबाट अर्कै टोली झिकाएर मतगणना गर्न दलहरु सहमत भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतगणनाको लागि सदरमुकाबाट दुई टोली खटाइएको बताइएको छ ।
मतगणनाको क्रममा मतपत्रको अवस्था, मतपत्रमा क्रमसंख्या, हस्ताक्षर लगायतमा कुनै कैफियत भए मतगणना रोक्ने र पुनःविचार गर्ने सर्तमा दलहरु मतगणना गर्न सहमत भएका हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।