अब किसानलाई एसएमएसबाटै रोगकीराबारे जानकारी

 आवाज संवाददाता     २१ जेष्ठ २०७४, आईतवार

दोलखा, जेठ २१/भीमेश्वर नगरपालिका ४ जिलूका छत्रबहादुर मग्राती तरकारी बालीमा रोगकीरा लागेर हैरान छन् । तर जिल्ला कृषि विकास कार्यालय दोलखाले आफ्नो मोबाइलमा एसएमएसबाट रोगकीराको रोकथाम र उपचारबारे सल्लाह दिएपछि उनी खुशी छन् ।
जिल्ला कृषि विकास कार्यालय दोलखाले सञ्चालन गरेको बाली उपचार शिविरमा इ–प्लान्ट क्लिनिकमा रोगकीराको उपचारका लागि पुगेका उनले आफ्नो मोबाइलमा रोगकीराको उपचार र रोकथामबारे सल्लाह पाएका हुन् । उनले भने, ‘कांक्रा, फर्सी, भण्टा आदि तरकारीमा फल कुहिने र बोट मर्ने समस्या थियो, एसएमएसबाटै उपचारबारे जानकारी पाएँ, धेरै खुशी लाग्यो ।’
बाली विरुवामा लाग्ने रोगकीरा र समस्याबारे किसानलाई जानकारी दिन, जिल्लामा कुन बालीमा कुन रोग छ भन्नेबारे जानकारी लिन, नेपालभर कुन बालीमा कुन रोगकीरा छ भन्ने जानकारी लिन एसएमएस प्रणालीको सुरुवात गरिएको प्लान्ट डाक्टर एवं बाली संरक्षण अधिकृत सुधीर पौडेलले जानकारी दिए । नेपालमा र दोलखामा नमुना परियोजनाको रुपमा यो कार्यक्रम सुरु भएको हो । दोलखाका अतिरिक्त नेपालका ४४ स्थानमा यस्तो इ–सेवा सञ्चालनमा छ ।
प्रत्येक महिनाको तेस्रो शनिवार सञ्चालन हुने शिविरमा आफ्ना समस्या लिएर आएका किसानहरुलाई पठाइएको एसएमएसको तथ्यांक बाली संरक्षण निर्देशनालय नेपाल र प्लान्टवाइज बेलायतमा समेत जान्छ । ती संस्थाहरुले रोगकीराबारे जानकारी राखी विश्वमा भएका बोट विरुवाहरुमा लाग्ने रोगकीराको तथ्यांक संकलन गरी व्यवस्थापनको लागि सल्लाह दिने जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायणकुमार श्रेष्ठले बताए । यसले गर्दा विदेशबाट आउने रोगलाई क्वारेन्टाएनमा रोक्न कानुनी सहयोग पुग्ने उनको धारणा छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF