जुँगू घटनाको थुनछेक बहस सुरु, पूर्व राज्यमन्त्री सहित ४० को नाममा मुद्धा

 आवाज संवाददाता     २२ जेष्ठ २०७४, सोमबार

दोलखा, २२ जेठ

दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगूका कुलबहादुर तामाङको हत्या अभियोगमा पूर्व राज्यमन्त्री सहित ४० जना विरुद्ध दोलखा जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ ।
पूर्व राज्यमन्त्री एवम माओवादी पोलिट्व्युरो सदस्य देवी खड्का, स्थायी समिति सदस्य गंगा कार्की विश्व र जिल्ला सह ईञ्चार्ज विशाल खड्का सहित ४० जनाविरुद्ध आईतबार अदालतमा मुद्धा दर्ता भएको हो ।
दोलखा प्रहरीले घटनाको अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले माओवादीका केन्द्रीय, जिल्ला स्तरीय, स्थानीय नेता कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्धामा प्रतिवादी बनाउँदै अभियोग पत्र दर्ता गरेका हुन् । मृतकका बाबु गोरे तामाङले दिएको जाहेरीका आधारमा मुद्धा दायर गरेको हो । अभियोग पत्रमा पूर्व राज्यमन्त्री देवि खड्कालाई हत्याको योजना र निर्देशन दिएको अभियोगमा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (४) र अन्यलाई १३ (३) बमोजिम सँजायको माग दाबी गरिएको छ ।
मुद्धाको सोमबारबाट थुनछेक बहस सुरु भएको छ । प्रहरीले गरेको अनुसन्धानको हिरासतमा रहेका ९ जनाको अदालतले बयान सुरु गरेको छ । बयान पूरा भएपछि बहस हुनेछ । एउटै घटनामा यति धेरैको नाममा मुद्धा दायर गरेको हो । मुद्धामा दोषीको रुपमा माओवादीका स्थानीय तहका साधारण कार्यकर्ता, उम्मेद्वार र केन्द्रीयस्तरका नेताहरु समेत रहेका छन् ।
प्रहरीले रामेछापमा रहेका गंगा कार्की विश्व र चरिकोटमा रहेका विशाल खड्कालाई समेत मुख्य दोषी देखाइएको छ । घटनामा कतिपय संलग्नै नभएकालाई पनि समावेश गरिएको छ । जुँगू घटनापछि नेकपा एमालेको दबाबमा मृतकका बाबु गारे तमाङले ४० जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
घटनामा कुलबहादुर तमाङ र शिक्षक दिलबहादुर बुढाथोकी सख्त घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा तमाङको बाटोमै मृत्यु भएको थियो भने बुढाथोकीको उपचार जारी छ ।
घटनामा संलग्न भएको आशंकामा ९जनालाई प्रहरीले पक्राऊ गरी अनुसन्धान गरेको छ । अपराधीका मुख्य अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै नेकपा एमालेकै अगुवाइमा तमाङ परिवारले पत्रकार सम्मेलन गरे । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आफ्ना नेताहरुलाई झुटो आरोपमा फसाउन खोजेको भन्दै प्रशासन समक्ष ध्यानाकार्षण पत्र बुझायो भने नेकपा एमालेले पनि अनुसन्धानमा गम्भिर हुन प्रशासनलाई अर्को ध्यानाकार्षण पत्र बुझायो ।
जुँगू घटनामा मारिएका कुलबहादुर तामाङलाई सरकारले सहिद घोषणा गरी १० लाख क्षतिपुर्ति दिने निर्णय गरिसकेपनि ४० जनाविरुद्ध अदालतमा मुद्धा दर्ता भई प्रक्रिया अघि बढेको हो । सामान्यतः सरकारले सहिद घोषण गरि क्षतिपुर्ति दिएको राजनीतिक घटनासँग सम्बन्धित मुद्धालाई सरकारले फिर्ता लिने चलन छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF