स्थानीय तह गठनपछि मालपोतमा सुनसान

 आवाज संवाददाता     २३ जेष्ठ २०७४, मंगलवार

दोलखा, २२ जेठ
स्थानीय तह गठनसँगै जिल्ला सदरमुकाम आउनेहरुको संख्या समेत घट्न थालेको छ । स्थानीय तह गठनसँगै गाउँ गाउँमा सिंहदरबारको नारा लगाएका दलहरुले गाउँ घरमै सबै काम हुने भएपछि सेवाग्राहीहरु सदरमुकाम धाउने क्रममै कमी आएको हो ।
स्थानीयहरु सदरमुकाम आउन घटेपछि त्यसको असर प्रत्यक्ष रुपमा मालपोतमा परेको छ । अघिल्लो वर्ष कर्मचारीलाई चिया पिउने फुर्सद समेत नहुने मालपोत कार्यालय चरिकोटमा आजभोली कर्मचारीहरु फुर्सदिला हुन थालेका छन् । मालपोतका एक कर्मचारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष ८० प्रतिशतभन्दा कामको चाप घटेको बताए ।
‘अघिल्लो वर्ष यही समयमा दैनिक ९० वटासम्म लिखत दैनिक रुपमा पास हुन्थे’ मालपोत कार्यालय चरिकोटका मुख्य मालपोत अधिकृत दिपेन्द्र काफ्लेले भने ‘अहिले त दैनिक १० वटा लिखत पास हुन पनि गाह्रो छ ।’ मालपोत लगाएतको काम स्थानीय गाउँपालिका÷नगरपालिकाबाटै हुने हल्लाले पनि जिल्लामा आउन छाडेको हुन सक्ने उनले अनुमान गरे ।
मालपोतमा अति आवश्यक बाहेकको काममा सेवाग्राही आउनै छाडेको बताए । स्थानीय तहको टुङ्गो लगाएर घोषणा गरेपछि मालपोत आउने सर्वसाधारणको संख्या घटेको हो । गत माघ यता घर जग्गा किन बेचको काम त ठप्प जस्तै भएको उनले बताए ।
मालपोत घटेपछि मालपोतबाट उठ्ने राजश्वको दर पनि घटेको छ । मालपोतले अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा ३ करोड ८१ लाख ८६ हजार राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको जेठमा मात्र लक्ष्यको ३ सय ३ प्रतिशत राजश्व संकलन गरेकोमा अहिले त्यो लक्ष्य भेट्न गाह्रो हुने उनले बताए । अघिल्लो वर्ष उठेको राजश्वलाई आधार मानेर केही बढी लक्ष्य राखेको भए तापनि लक्ष्यको ५० प्रतिशत पनि उपलब्धी हाँसिल गर्न नसकिने अवस्था रहेको मुख्य मालपोत अधिकृत काफ्लेले बताए ।
नयाँ बन्ने स्थानीय तहमा मालपोत लगायतको काम समेत स्थानीयस्तरमा नै हुने संविधानमा उल्लेख छ । स्थानीय तहको संरचना परिवर्तन हुनु र स्थानीय तहको चुनाव समेत भइसकेकाले मालपोतको काम घटेको हो । स्थानीय तह पुर्न संरचना भएपछि घटेको काम चुनावपछि त झन जनता आउनै छाडेको मालपोत कार्यालय चरिकोटका सूचना अधिकारी अर्जुन पोखरेलले बताए ।
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुले कार्यालय खोलेर काम सुरु भएकाले स्थानीयस्तरमा नै धेरै काम हुने नागरिकहरुमा विश्वास छ । स्थानीय स्तरमा सबै सेवा पु¥याउने भने तापनि मालपोत, नापी, वन, स्वास्थ्य लगायतको काम के हुने र कसरी हस्तान्तरण हुने भने स्पष्ट छैन । स्थानीयस्तरमा भौतिक संरचना समेत नभएकाले कहिलेदेखि कसरी जिल्ला र केन्द्रदेखिका काम सुरु हुने भन्ने पनि अन्यौलता कायमै छ ।
बैंकमा तरलता घटेकाले पनि घरजग्गाको कारोबार घटेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।