प्रधानमन्त्री देउवाले सम्हाले कार्यभार, सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

 आवाज संवाददाता     २४ जेष्ठ २०७४, बुधबार

२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए । लगतै सिंहदरबार आएका देउवाले पदभार सम्हालेका छन् ।

देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे । यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।

देउवा सरकारमा तीन उपप्रधानमन्त्री, ज्ञानेन्द्र कार्की अर्थमन्त्री

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । अर्थमन्त्री भने ज्ञानेन्द्रबहादुर कार्की भएका छन् ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नेछन् ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् । अर्थमा महेश अचार्यलाई लैजाने चर्चा पनि थियो । तर, अन्तिममा देउवा समूहका कार्की अर्थमन्त्री भएका छन् ।

कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF