युनिसेफ र न्याय हेल्थका कारण स्वास्थ्य चौकी २ वर्षदेखि पालभित्रै

 आवाज संवाददाता     २७ जेष्ठ २०७४, शनिबार

दोलखा, २७ जेठ
भुकम्पले क्षति भएका स्वास्थ्य चौकीहरु २ वर्षदेखि त्रिपालकै भरमा सञ्चालन भइरहेका छन् । भुकम्पले क्षति भएका स्वास्थ्य चौकीको अस्थायी भवन (प्रिफा) निर्माण गर्ने ठेक्का लिएर अलपत्र पारेपछि त्यसको माग आम विरामीले भोग्नु परेको छ ।
सडक, भवन र ठूला आयोजनाहरुमा ठेकेदारहरुले ठेक्का लिएर समयमा काम नगरेर दुःख दिए जस्तै अस्थायी भवनको जिम्मा लिएर काम नगरिदिंदा युनिसेफ र न्याय हेल्थले स्वास्थ्य संस्थाहरुलाई अलपत्र पारेका छन् । भुकम्पले क्षति भएको स्थानमा प्रिफा भवन बनाउने अन्तिम मिति २०७३ बैशाखसम्म भए तापनि युनिसेफले त एउटा पनि भवन भनाएर हस्तान्तरण गर्न सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा ति संघ संस्थाले विभिन्न स्वास्थ्य संस्थाको जिम्मा लिए तापनि दर्जन बढी स्वास्थ्य चौकीको अस्थायी भवन निर्माण हुन सकेका छैनन् । स्वास्थ्य चौकीको अस्थायी भवन निर्माणका लागि संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ), न्याय हेल्थ, सेभ द चिल्ड्रेन, वल्ड भिजन, प्लान इन्टरनेशनल लगायतले जिम्मा लिएका हुन् । अरु आइएनजिओले जिम्मा लिएका भवन धेरैको पूरा हुन लागे तापनि युनिसेफले जिम्मा लिएका भवन अहिलेसम्म एउटा पनि हस्तान्तरण हुन सकेको छैन ।
युनिसेफले ११ वटा स्वास्थ्य चौकी निर्माणको जिम्मेवारी लिएको थियो । २०७३ बैशाख भित्र पूरा गर्ने सर्तमा अस्थायी भवन (प्रिफा) निर्माणको जिम्मा लिए पनि थप एक वर्ष बित्दा समेत अझै कहिले पूरा हुने टुङ्गो छैन । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा. राजेन्द्र साहले प्रिफा भवनका लागि ताकेता गर्दा–गर्दा आफू हैरान भएको गुनासो गरे ।
जिल्ला स्वास्थ्यले भुकम्प लगत्तै ३९ वटा स्वास्थ्य चौकीमा प्रिफा बनाउनु पर्ने आवश्यकता अनुसार आइएनजिओले जिम्मा लिएका हुन् । सबैभन्दा बढी २१ वटा पोसिबल हेल्थको सहयोगमा न्याय हेल्थले जिम्मा लियो । सबैभन्दा समस्या पनि युनिसेफ र न्याय हेल्थकै छ । युनिसेफले जिम्मा लिएका ११ वटा मध्ये ५ वटा निर्माणाधिन अवस्थामा भए पनि ६ वटाको काम सुरु नै हुन सकेको छैन ।
त्यस्तै न्याय हेल्थले जिम्मा लिएको २१ वटा मध्ये १५ वटा निर्माण पुरा भएको छ भने ३ वटा निर्माणाधिन छ । जफे, आलम्पू र च्यामामा जग्गाको कारण सुरु गर्न नसकिएको इन्जिनियर रमेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य चौकीका लागि न्यूनतम् ५ रोपनी जग्गा हुनु पर्ने मापदण्ड तोकेको छ ।
युनिसेफले दोलखा र पवटीको भवन पूरा हुन लागे तापनि हस्तान्तरण हुन सकेको छैन । मालु, शैलुङ्गेश्वर, मागापौवामा भवन निर्माणको सामान स्थलगत रुपमा पु¥याए तापनि निर्माण भएका छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अस्थायी भवन विभाग हेर्ने अधिकारी जितेन्द्रकुमार कर्णले एक वर्ष अघि पूरा हुनु पर्ने प्रिफा भवन पक्कि भवनकै लागत खर्च गर्दा पनि काम नगर्दा समस्या भएको बताए । ‘अस्थायी भवन ६ महिना भित्र सक्ने प्रतिबद्धता गरेर जिम्मा लिए’ उनले भने ‘यहाँ पक्कि भवन बन्ने बेलासम्म सुरु गरेनन् ।’ वैठकमा मिठा कुरा गरेर काम नगर्ने प्रवृत्तिले यहाँ स्वास्थ्य सेवामा समस्या परेको बताए ।
मालु स्वास्थ्य चौकी भवन निर्माणका लागि सामाग्री पु¥याएको ६ महिना पूरा भएको छ । तर कहिले अस्थायी भवन बन्ने हो टुङ्गो छैन । स्वास्थ्य चौकी निर्माणको लागि ६ लाख खर्च गरेर स्थानीयले जग्गा तयार गरे तर भवन बनेन । “मंसिरतिर ३ वटा ट्रकमा सामान ल्याएर फालेको थाहा छ तर कोही फर्केर समेत आएनन्” स्थानीय देवीप्रसाद पोखरेलले भने “ति सामान पनि कसैलाई जिम्मा लगाएको थाहा छैन, फालेका सामान स्वास्थ्य चौकीका कर्मचारी सहित मिलेर हामीले मिलाएर राख्यौं सामान खुल्ला ठाउँमा छ कस्तो भयो थाहा छैन ।”
युनिसेफले चाँडै भवन बनाइ दिने भनेपछि स्थानीयले अरु विकल्प पनि सोचेनन् । भुकम्पले स्वास्थ्य चौकी भत्केपछि एक वर्ष गाविसको कार्यालयमा सञ्चालन भयो । त्यहाँ ठाउँ अभाव भएपछि एक वर्षदेखि नजिकै स्थानीयको घरको २ कोठा भाडामा लिएर सञ्चालन भइरहेको छ । त्यो पनि सम्झौता सकिएकाले घर खाली गर्न घरबेटीले ताकेता गरिरहेको स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र खड्काले बताए । तर अन्यत्र सर्ने ठाउँ समेत नभएको गुनासो गरे ।
स्वास्थ्य चौकीले वहिरंग सेवा, प्राथमिक उपचार, औषधी भण्डारण, सुत्केरी सेवा (बर्थिङ सेन्टर) समेत कष्टले सञ्चालन गरिरहेको उनले बताए । भवन निर्माणको बारेमा पटक पटक जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराए तापनि कुनै सुनुवाइ नभएको उनले गुनासो छ ।
बर्थिङ सेन्टर समेत सञ्चालन गर्दै आएको पवटी स्वास्थ्य चौकी भुकम्पपछि एउवा टेण्टबाट सञ्चालन भइरहेको छ । युनिसेफले नै भवन बनाए तापनि काम पूरा नभएकोले हस्तान्तरण भएको छैन । घ्याङसुकाठोकरको स्वास्थ्य चौकी पनि पुरानो भत्केको भवनबाट सञ्चालन भइरहेको छ । अहिले त्यहाँ अस्थायी भवन निर्माणाधिन छ ।
मागापौवा र शैलुङ्गेश्वर स्वास्थ्य चौकीको सामान केही दिन अघि मात्र ढुवानी भएको छ । जफे स्वास्थ्य चौकीको अस्थायी भवनका लागि जग्गा तयार भए तापनि त्यहाँ अझै भवन निर्माण हुन सकेको छैन । जफेका नवनिर्वाचित वडा अध्यक्ष रामप्रसाद काफ्लेले भवन निर्माणका लागि संघ संस्थाको आ आफ्नै सर्तका कारण भवन निर्माण हुन नसकेको बताए । जफेमा साविक गाविस कार्यालयबाट स्वास्थ्य चौकी सञ्चालन भइरहेकोमा अब जनप्रतिनिधि आएपछि तामाकोसी गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय सञ्चालन भएपछि स्वास्थ्य चौकीलाई समस्या पर्ने भएको छ ।
युनियसेफका दोलखा जिल्ला संयोजक सुरेश पण्डितले ठेकेदारले समयमा काम नगरिदिंदा समस्या परेको बताए । दुधपोखरीमा जग्गाको समस्या भए तापनि अन्यत्र ठेकेदारले काम नगर्दा अहिले हामीलाई नै लाजमर्दो भएको उनले प्रतिक्रिया दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रिफा हेर्ने अधिकारी कर्णका अनुसार थप ७ स्वास्थ्य चौकीलाई भवनको आवश्यकता परे तापनि अब अस्थायी भवन नबनाउने बताए । अस्थायीलाई पनि स्थायी जति नै खर्च हुने भएपछि स्थायी भवन बनाइ दिन इच्छा व्यक्त गर्नेहरुलाई मात्र अनुमति दिने बताए ।

तस्बिरः १ पवटी स्वास्थ्य चौकीमा त्रिपाल भित्रै विरामी उपचार गर्दै स्वास्थ्यकर्मी
२ प्रिफा भवन निर्माणका लागि युनिसेफले मागापौवा स्वास्थ्य चौकीका लागि पु¥याएर राखिएको सामाग्री

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।