जुँगू घटनाका पीडितहरु न्याय नपाएको भन्दै चरिकोटमा (फोटो फिचर सहित)

 आवाज संवाददाता     २८ जेष्ठ २०७४, आईतवार

दोलखा, २८ जेठ

जुँगूमा एक महिना अघि एक जनाको ज्यान जाने गरी भएको घटनाका पीडितहरु आफूले न्याय नपाएको भन्दै आइतबार सदुरमुकाम आएका छन् । सदरमुकाममा उनीहरुले मौन ¥याली गर्दै अदालत परिसरसम्म पुगेर बजार परिक्रमा गरेका छन् ।
बैशाख २६ गते बेलुका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीचको झडपमा परी गौरीशंकर गाउँपालिका १ हुप्पाका कुलबहादुर तमाङको ज्यान गएको थियो । मृतकका बुबा गोरे तमाङ, श्रीमती, छोरा छोरी, दाजुभाई सहितका स्थानीयहरु सदरमुकाम आएर बजार परिक्रमा गरे ।
चरिकोट बजार परिक्रमापछि सातदोबाटो चोकमा पत्रकार सम्मेलन गरी हत्याराहरु महिना दिनसम्म पक्राऊ नपर्नु र प्रहरीले पक्राऊ गरेका अभियुक्तहरु पनि तारेखमा छुट्दा आफूले न्याय नपाएको मृतकका बुबा गोरे तमाङले बताए । घटनामा परी गम्भिर घाइते भएका दिलबहादुर बुढाथोकीका छोरा चन्द्र बुढाथोकीले घटनाका अपराधीहरु उम्किदा परिवारलाई झन ठूलो चोट लागेको अनुभुती भएको बताए । न्यायलयबाट आफूले न्याय पाउनेमा अझै आशावादी रहेको उनले व्यक्त गरे ।
शुक्रबार दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजालसले घटनामा संलग्न रहेको आशंकामा प्रहरी हिरासतमा भएका ९ जना अभियुक्तहरु साधारण तारेखमा छुटेका छन् । अदालतको आदेशमा अभियुक्तहरु तारेखमा छुटेपछि नेकपा एमालेको अगुवाइमा पीडितहरु चरिकोट आइ बजार परिक्रमा गरी अदालतको निर्णयको विरोध गरेका हुन् ।
आइतबार विहान नेकपा एमाले पार्टी कार्यालय चरिकोटमा पीडित परिवारसँग बैठक बसी विरोधस्वरुप मौन ¥याली निकाल्ने निर्णय गरेको थियो । निर्णयपछि पार्टी कार्यालयबाटै प्लेकार्ड सहित ¥याली सुरु भएको थियो । आफ्ना कार्यकर्ताको घटनामा परी ज्यान गएपछि २ जना सांसद र एमाले नेताहरु सहितको सहभागीतामा प्रहरीमा जाहेरी दिने र बेलाबेलामा दबाबमूलक ज्ञापन पत्र गराए तापनि आइतबारको ¥यालीमा भने एमालेका नेताहरुको प्रत्यक्ष उपस्थिति थिएन । अदालतमा थुनछेक बहस भइरहेको दिन समेत अदालत गेटमा जनप्रतिनिधिहरुको उपस्थितिमा एमाले समर्थित महिलाहरुले धर्ना दिएका थिए ।
घटनामा माओवादी सचिवालय सदस्य गंगा कार्की, पूर्व राज्य मन्त्री देवी खड्का, दोलखाका सह इन्चार्ज विशालख खड्कालाई मुख्य अभियुक्त बनाइएको छ । उनीहरु सहित ४० जना विरुद्ध अदालतमा मुद्धा दायर भए पनि ३१ जना अझै फरार छन् । फरार अभियुक्तहरुलाई ७० दिन भित्र अदालत हाजिर हुन आदेश दिएको छ ।
जुँगू घटनामा मारिएका कुलबहादुर तामाङलाई सरकारले सहिद घोषणा गरी १० लाख क्षतिपुर्ति दिने निर्णय गरि सकेको छ । सहित घोषणापछि अदालतमा मुद्धा दायर भएको हो ।


हत्यारालाई कारबाहीको माग गर्दै चरिकोट बजारमा विरोध ¥याली


¥यालीपछि सातदोबाटोमा पत्रकार सम्मलेन गर्दै पीडित परिवार


अदालतको सुरक्षामा तैनाथ प्रहरी


प्ले कार्ड सहितका स्थानीय युवाहरु

नेकपा एमाले पार्टी कार्यालयमा विद्यार्थीहरुलाई प्ले कार्ड वितरण गर्दै भीमेश्वर नगर कमिटी सचिव टीका सापकोटा

न्याय माग्न विदेशबाट आएका घाइतेका छोरा चन्द्र बुढाथोकी

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।