जिल्ला वन कार्यालय ४ महिनादेखि प्रमुख विहिन

 आवाज संवाददाता     ३१ जेष्ठ २०७४, बुधबार

दोलखा, जेठ ३१
जिल्ला वन कार्यालय दोलखामा विगत ४ महिनादेखि कार्यालय प्रमुख नहुँदा कार्यालयको प्रमुख काम प्रभावित भएको छ ।
गत फागुन महिनामा जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीको सहसचिवमा बढुवा भएदेखि नै जिल्ला वन कार्यालय प्रमुख विहिन बनेको हो । आर्थिक वर्ष सकिन लागेका बेला कार्यालय प्रमुख नहुँदा थुप्रै काम प्रभावित भएको छ ।
कार्यालय प्रमुख नहुँदा पनि सामान्य काम नियमित भए तापनि आर्थिक अधिकार र मुद्धाको अधिकार नहुँदा काम प्रभावित भएको हो । भण्डारी सह सचिवमा बढुवा भएपछि रिक्त भएको कार्यालय प्रमुखको जिम्मेवारी जेठ दोस्रो साता आर्थिक अधिकार सहितको निमित्त जिम्मेवारी पाएका गोविन्द दाहालले पाएका थिए । दाहालको समेत लगत्तै उप सचिवमा बढुवा भएपछि उनी अहिले मन्त्रालय हाजिर भएका छन् ।
आर्थिक वर्ष सकिने दिन नजिकीदै गर्दा झन समस्या परेको वन कार्यालयका कर्मचारीहरु बताउँछन् । वर्षा लाग्दै विरुवाको टेण्डर गर्ने र वृक्षा रोपण गर्नु पर्नेमा त्यो समेत हुन सकेको छैन । विगतका वर्षहरुमा असार पहिलो साता भित्र विरुवाको लागि टेण्डर भइसक्थ्यो । कार्यालय प्रमुख नहुँदा पुराना कामको भुक्तानी र पेश्कि फछ्र्यौट गर्न समेत समस्या परेको छ ।
४ महिना यता अवैध रुपमा ओहोर दोहोर भएका कतिपय काठहरु समेत पक्राऊ परेका छन् । त्यसको अनुसन्धान गरी मुद्धा छिनोफानो गर्न समेत समस्या परेको छ । त्यसको असर आम उपभोक्ताहरुलाई समेत परेको जिल्ला वन कार्यालयका नायव सुब्बा राजेन्द्र सुवेदीले बताए । आशंकाको भरमा पक्राऊ परेकाहरुको समेत छानविन गर्न समस्या हुने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF