गौरीशंकर संरक्षण क्षेत्रमा ७ वर्षमा १३ हजार विदेशी पर्यटक

 आवाज संवाददाता     ४ असार २०७४, आईतवार

दोलखा, ४ असार
गौरीशंकर संरक्षण क्षेत्रमा सन् २०१० यता सात बर्षको अवधिमा१३ हजार ३२ जना बिदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । सात बर्षको अवधिमा संरक्षण क्षेत्रको भ्रमण गरेका १३ हजार ३२ पर्यटकहरुबाट पर्यटन रोयल्टी वापत २ करोड ६० लाख ६४ हजार रुपैयाँ आम्दानी भएको छ ।
गौरीशँकर संरक्षण क्षेत्र आयोजनाले रोल्वालिङ र लप्ची क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चरिकोटमा अयोजना गरेको समन्वय बैठकमा यस्तो जानकारी दिईएको हो । आयोजना प्रमुख सत्यनारायण साहका अनुसार संरक्षण क्षेत्र लागू भएपछि दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उच्च हिमाली क्षेत्रको भ्रमणमा आउने बाह्य पर्यटकहरुको सँख्या बृद्धि हुँदै गएको छ । उहाँका अनुसार सन् २०१० मा १ सय ४१ पर्यटकले भ्रमण गरेकोमा २०११ मा एक हजार ६, २०१२ मा १ हजार ८ सय १४ र २०१३ मा २ हजार ४ सय ८८ पर्यटकले भ्रमण गरेका छन् ।
सन् २०१४ मा ३ हजार १ सय २१, २०१५ मा १ हजार ८ सय ३३ र २०१६ मा २६ सय २९ बिदेशी पर्यटकले भ्रमण गरेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख साहले संरक्षण क्षेत्रको भ्रमणमा आउने बिदेशी पर्यटकहरुको सँख्या बर्षेनी बृद्धि हुँदै गए पनि विनाशकारी भूकम्प गएको बर्ष करिव ५० प्रतिशत पर्यटक घटेको बताए । घटेका पर्यटकहरु हाल क्रमश बृद्धि हुँदै गएको जानकारी दिए ।
गौरीशँकर संरक्षण क्षेत्र अन्तर्गत सिन्धुपाल्चोकको तातोपानी, दोलखाको सिँगटी र रामेछापको शिवालय हुँदै विदेशी पर्यटकहरु भ्रमणमा प्रवेश गर्ने गरेका छन् । खासगरी पर्यटकीय नगरी जिरीवाट संरक्षण क्षेत्रमा पर्ने शिवालय हुँदै सगरमाथा आधार शिविरतर्फ जाने विदेशी पर्यटकहरुको सँख्या उल्लेख्य छ ।

रोल्वालिङ क्षेत्रमा २८०७ पर्यटक
दोलखाको सिँगटी नाकाबाट रोल्वालिङ क्षेत्र भ्रमण गर्ने पर्यटकहरु समेत बढ्दै छन् । कतिपय विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्रको भ्रमण गरेर टासिलप्चा पार गरेर सोलुखुम्वु पुग्ने पर्यटकको सँख्या पनि बर्षेनी बृद्धि हुँदै गएको छ ।
आयोजनाको तथ्याँक अनुसार सात बर्षको अवधिमा सिँगटि हुँदै भ्रमणमा जाने विदेशी पर्यटकहरुको सँख्या २ हजार ८ सय ७ जना रहेको छ । सवैभन्दा बढि सन् २०१३ मा ५ सय २ र २०१४ मा ५ सय ८६ जना पर्यटक सिँगटी हुँदै भ्रमणमा गएका छन् । संरक्षण क्षेत्रले भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकहरुलाई प्रवेश शुल्क वापत प्रति व्यक्ति २ हजार रुपैयाँ लिदै आएको छ । सो वापत उठेको रकम पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च गरिएको आयोजनाको भनाई छ ।

मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङ र लप्चि
गौरीशंकर क्षेत्रको मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङ र लप्ची रहेको छ । संरक्षण क्षेत्रले पर्यटन प्रवद्र्धनका लागि पर्यटन पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै प्रचार प्रसार, नेचर गाईट, टुर गाईड, कुक तालिम दिँदै आएको छ । ति क्षेत्रको एकीकृत विकासका लागि सहयोग काम गर्ने बताएको छ ।
यो अवधिमा १६ वटा पदमार्गको पहिचान गरी निर्माण तथा सुधार गरिएको, होम स्टे प्रवद्र्धनका लागि लादुक, सिमिगाउँ र बिगुमा पूर्वाधार निर्माणमा सहयोग गरेको आयोजनाले जनाएको छ । कार्यक्रममा दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपाल, बिगु गाउँपालिकाका अध्यक्ष युधिस्ठिर खड्का, गौरीसँकर गाउँपालिका अध्यक्ष स्वयँवहादुर खड्का, गौरीशँकर गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष छिरिङ शेर्पा लगायतलका जनप्रतिनिधिले स्थानीय तह, संरक्षण क्षेत्र र पर्यटन व्यवसायी मिलेर एकिकृत रुपमा पर्यटन विकासमा जोड दिनु पर्ने धारणा राखेका थिए ।
यस्तै, दोलखा पर्यटन विकास समितिका अध्यक्ष बैकुण्ठ नारायण प्रधानले प्रचार प्रसार नैं पर्यटन प्रवद्र्धनको मुख्य आधार भएकाले दोलखाका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलको प्रचारमा अझ जोड दिन सुझाव दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF