दोलखामा राष्ट्रिय सेवा दलको तालिम सुरु

 आवाज संवाददाता     ४ असार २०७४, आईतवार

दोलखा, असार ४/दोलखा सदरमुकाम चरिकोटमा नेपाली सेनाको राष्ट्रिय सेवा दलको तालिम आजबाट सुरु भएको छ । तालिममा कालिन्चोक माविका १८ छात्रा र १८ छात्र गरी ३६ जनाको सहभागिता छ ।
रणभीम गणको आयोजनामा दोलखा सदरमुकाम चरिकोट स्थित कालिन्चोक माविमा राष्ट्रिय सेवा दलको तालिमको आज उद्घाटन गरिएको हो । तालिम कार्यक्रमको उद्घाटन गर्दै रणभीम गणका सहायक गणपति सेनानी नारायणबहादुर बस्नेतले तालिमले विद्यार्थीहरुलाई ज्ञान, सीप र अनुशासन सिकाउने बताए । प्रमुख प्रवचन दिँदै उनले तालिमको ऐतिहासिक अवस्था, उद्देश्य, फाइदाहरुबारे पनि जानकारी दिए । उनले तालिमका सहभागी विद्यार्थीहरुले पाउने सुविधा, उनीहरुबाट सेवा दलले गरेको अपेक्षा, विद्यालयबाट सेवा दलले गरेको सकारात्मक अपेक्षा सुनाए ।
विद्यालय निरीक्षक शंकरबाबु श्रेष्ठले तालिमबाट विद्यार्थीहरुमा अनुशासनका साथै पढाइमा समेत निखार आउने विश्वास व्यक्त गरे । कालिन्चोक मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गौतमले तालिमबाट विद्यार्थीहरुमा अतिरिक्त क्रियाकपाल निपुण हुनुको साथै असल नागरिक तयार गर्न मद्दत मिल्ने बताए । कार्यक्रमका अध्यक्ष एवं कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले राष्ट्रिय सेवा दलको अघिल्लो वर्षको तालिमले विद्यार्थीहरुमा सुधार आएको बताए । उनले तालिमलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मूल नाराका साथ राष्ट्रिय सेवा दलले २०२२ सालदेखि यस्तो तालिम कार्यक्रम सुरु गरेको हो ।
विद्यार्थीहरुलाई जम्मा १ सय दिनको तालिम दिइन्छ भने उनीहरुले ७९ दिन संस्थागत तालिम पाउँछन् । स्थान विशेषमा वा आफ्नै विद्यालय तथा जिल्लामै दिइने तालिममा उनीहरुले शारीरिक तालिम, ड्रिल, सैनिक कला, टेकिङ तथा हाइकिङ, एरोविक्स आदिको तालिम दिइन्छ । त्यसैगरी वार्षिक सामुहिक क्याम्पमा गेष्ट लेक्चर, विपद् व्यवस्थापन तथा उद्धार, प्राथमिक उपचार तालिम सिकाइन्छ । उनीहरुलाई विभिन्न तालिमका बेला आवश्यक पर्ने फरकफरक प्रकारका पोशाकहरु उपलव्ध गराइन्छ । तालिममा उत्कृट प्रर्दशन गर्ने क्याडेटलाई विभिन्न दज्र्यानी चिन्ह समेत प्रदान गर्दै दीक्षान्त समारोह आयाजना गरिन्छ ।
अघिल्लो वर्ष मोरङ जिल्लाको याङ्सिलामा भएको वार्षिक सामुहिक क्याम्पमा कालिन्चोक माविले प्रथम स्थान हासिक गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।