दोलखामा ‘साइन्स सिटी’ बनाउन अभियान सुरु

 आवाज संवाददाता     ४ असार २०७४, आईतवार

दोलखा, ४ असार
दोलखामा विज्ञान नगरी (साइन्स सिटी) निर्माणका लागि अभियान सुरु भएको छ । चरिकोटमा आइतबार साइन्स सिटी निर्माणका लागि एक छलफल कार्यक्रम समेत आयोजना गरियो । छलफलमा सहभागीहरुले देशको आधुनिक युग अनुसार साइन्स सिटी बनाउन आवश्यक भएको धारण राखे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) को आयोजना र जिल्ला शिक्षा कार्यालय दोलखाको संयोजनमा भएको माविस्तरीय विज्ञान शिक्षण उपकरण निर्माण तथा प्रयोगात्मक तालिमको अवसरमा उक्त छलफल भएको हो । कार्यक्रममा साइन्स सिटी निर्माण अभियानका अभियन्ता बरिष्ठ कलाकार मदनदास श्रेष्ठले विदेशमा साइन्स सिटीले नै तीव्र आर्थिक विकासका लागि मद्दत गरेको भन्दै ‘हाम्रो देशमा किन सकिँदैन’ भनेर यसमा लागेको बताए ।
साइन्स सिटी निर्माणमा नास्टले साथ दिए स्थानीयस्तरबाट जग्गा उपलब्ध गराउन र अन्य सबै सहयोग हुने बताए । साइन्स सिटीमा भित्री रुपमा विज्ञान संग्राहलय र बाहिरी रुपमा विज्ञान पार्क हुने बताए । पार्कमा विज्ञानका आविस्कार सहितका विद्यार्थीहरुलाई अध्ययनमा सघाउ पुग्ने सामाग्री हुने बताए । दोलखामा फिल्म सिटी निर्माणका लागि समेत कलाकार श्रेष्ठले नै अगुवाइ गरेका छन् ।
सांसद पशुपति चौलागाईले साइन्स सिटी निर्माणका लागि आफ्नो तर्फबाट सबै सहयोग गर्न तयार भएको बताए । साइन्स सिटी निर्माणका लागि वनसँग सम्बन्धित कर्मचारीहरुसँग समेत जग्गाको बारेमा छलफल गरिसकेको बताए ।
नाष्टका सदस्य सचिव डा. बुद्धिरत्न खड्गीले विज्ञान क्षेत्र विकासका लागि सरकारको नै प्राथमिकतामा नै नपरेको गुनासो गरे । विकास गर्ने आधार नै विज्ञान र प्रविधि भए तापनि यहाँ सरकारले बेवास्था गरेको गुनासो गरे । नाष्टले अब खुमल्टारमा मात्र रहेको विज्ञान पार्क देशको सातै प्रदेशमा बनाउने योजना भएको समेत जानकारी दिए ।
पार्क निर्माणको लागि विभिन्न ठाउँबाट प्रस्ताव आएको बताए । स्थानीयस्तरबाट सबै सहयोग हुने र सरकारले समेत प्राथमिकतामा राखेमा साइन्स सिटी बनाउन सकिने बताए ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले साइन्स सिटी निर्माणका लागि आफू आजैदेखि काममा लाग्ने उद्घोष गरे । आफ्नो चुनावी घोषणा पत्रमा समेत साइन्स पार्क निर्माण गर्ने विषय राखेको छु’ उनले भने ‘यसको कार्यान्वयनका लागि लाग्ने र एउटा समृद्ध नगरपालिका बनाउन लाग्छु ।’ साइन्स पार्कका लागि नाष्टका वैज्ञानिकहरु सहितको टोलीले भीमेश्वर नगरपालिका २ तिलिञ्चो क्षेत्रको जग्गा समेत स्थलगत निरीक्षण गरेको छ । आवश्यकता अनुसार भीमेश्वर नगरको जुनसुकै ठाउँको जग्गा समेत उपलब्ध गराउन सकिने मेयर केसीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF