अवैध रुपमा ड्रोन उडाउने विदेशी नागरिक पक्राऊ

 आवाज संवाददाता     ४ असार २०७४, आईतवार

दोलखा, ४ असार
दोलखा सदरमुकाम चरिकोटवाट अवैध रुपमा ड्रोन क्यामेरा उडाउने एक विदेशी नागरिक पक्राऊ परेका छन् । अनुमति नलिई चिनको सिमानासँग जोडिएको उत्तरी क्षेत्रमा ड्रोन क्यामेरा उडाउने विदेशी मलेसियन नागरिक टाई रिङ थ भएको प्रहरीले जनाएको छ ।
दोलखा प्रहरीले चरिकोट स्थित पानारोमा रिर्सोटवाट ५२ बर्षिय मलेसियन नागरिक टाई रिङ थ लाई पक्राउ गरेको हो । उनको साथवाट ड्रोन क्यामेरा र अपरेटिङ ल्याप टप पनि बरामद भएको छ । ति विदेशी नागरिकलाई पूर्व अनुमति विना ड्रोन क्यामेरा उडाएको अभियोग लागेको छ ।
आइतबार विहान सवेरै करिव ६ बजे सदरमुकाम चरिकोटवाट जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा ड्रोन क्यामेरा उडाईएको थियो । दोलखाको आकाशमा अवैध रुपमा ड्रोन क्यामेरा उडाईएको सूचनापछि प्रहरीले उनको खोजि गरिरहेको थियो । बिशेष सुराकीका आधारमा पानारोमा रहेका टाई रिङलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेका मलेसियन नागरिक युनिसेफसँँग आवद्ध कर्मचारी छन् । उनले दोलखा, सोलखुम्वु र ओखलढुँगामा खानेपानी योजनामा निर्माणका लागि सम्भावित मूलको पहिचान गर्न ड्रोन क्यामेरा उडाएको प्रहरीलाई बताएका छन् ।
टाई रिङले १४ जिल्लाका खानेपानी आयोजना निर्माणका लागि सर्वे गर्ने आफ्नो जिम्मेवारी भएको र त्यसका लागि राष्ट्रिय पुन निर्माण प्राधिकरणसँग सम्झौता भए अनुसार ड्रोन क्यामेरा उडाएको दावी गरेका छन् । तर, नेपाल सरकारको नियमानुसार गृह मन्त्रालयको पूर्व स्विकृति र नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर मात्रै ड्रोन उडाउन पाउने व्यवस्था रहेको दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
युनिसेफले बनाएको एउटा भवन उद्घाटनमा आएको बताएपछि अहिले उनले प्रयोग गरेको उपकरण नियन्त्रणमा लिएर युएनको कर्मचारीको जिम्मा लगाएको डिएसपी कार्कीले बताए । भवन उद्घाटनपछि उनलाई नागरिक उड्ययन प्राधिकरणमा बुझाउने कार्कीले बताए । यसबारे नागरिक उड्ययन प्राधिकरणले मात्र कानुनी कारबाही गर्ने व्यवस्था छ ।
टाई रिङले ड्रोन क्यामेरा उडाएको क्षेत्रलाई सँवेदनशिल मानिन्छ । दोलखाका उत्तरी क्षेत्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग सिमा जोडिएका कारण सो क्षेत्रमा ड्रोन क्यामेरा उडाउँदा सिमा सुरक्षामा समेत असर पर्दछ । विनाशकारी भूकम्पका बेला तिव्वतसँग सिमा जोडिएको दोलखाको उत्तरी क्षेत्रमा अमेरिकी र भारतिय सैन्य हेलिकोप्टर उडाउँदा समेत चीनले आपत्ति जनाएको थियो । स्थानीयका अनुसार केही दिनदेखि तामाकोसी किनारतिर पनि ड्रोन क्यामेरा उडेको थियो ।

विहान साँढे ५ बजेतिरै कालिञ्चोक पुगेर फर्कियो ड्रोन
पानोरोमा रिसोर्टबाट ति मलेसियन नागरिकले विहानैदेखि ड्रोन उडाएको स्थानीयले बताएका छन् । स्थानीय मेलुका उप्रेती जिष्णुले फेसबुकमा एक स्टाटस लेख्दै विहान साँढे ५ बजे नै आफूले ड्रोन उडेको देखेको बताइन् ।
‘आज बिहान साढे पाँच बजेको थियो, घरको माथी खरर आवाज आयो!! कहिले टक्क रोकिने कहिले उड्ने कुनै बस्तु आकासमा देखियो’ उनले लेखेकी छिन् ‘त्यो हाम्रो घर माथी हुँदै कालिञ्चोक पुगेर फेरि घर माथी पानोरामा रिसोर्टमा ओर्लियो ।’ त्यहाँ दुईजना पर्यटक ड्रोनबाट भिडियो लिईरहेको देखें तर हामीलाई देख्ना साथ उनले फेरि उडाउन लागेको ट्रोन भित्र लगेर ढोका बन्द गरेको उनले लेखेकी छिन् ।
‘हामीलाई असामन्य लाग्यो, मैले उनको ढोका ढकढक गरें खोलेनन्, फेरि बोलाउँदै ढकढक गरे ढोका खोले’ उनले लेखेकी छिन् ‘रिसोर्टको भान्सामा बसेर नाति रोशनले सोधेपछि आफूले युनिसेफको कर्मचारीभन्दै आफूले खिचेका अरु भिडियो समेत देखाए ।’ कालिञ्चोकभन्दा माथि तिब्बतिन सिमाना पर्छ ।

तस्बिरः पक्राऊ परेका मलेसियन नागरिक तीन जनाको बीचमा र छेऊमा मानोरोमा रिसोर्टका सञ्चालक तोपबहादुर थापा ।
तस्बिरः मेनुका उप्रेतीको फेसबुकबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।