चिनियाँ ट्रकले किच्दा एकको ज्यान गयो

 आवाज संवाददाता     ७ असार २०७४, बुधबार

दोलखा, ७ असार
माथिल्लो तामाकोसी जलविद्युत आयोजनास्थलमा ट्रकले किच्दा एक जनाको ज्यान गएको छ । बुधबार करिब ५ बजेतिर आयोजनाको काममा चल्ने ट्रकले किच्दा आयोजनाको सडकमा काम गर्ने सिन्धुपाल्चोक टेकनपुरका ५० वर्षिय वेदलाल भट्टराईको घटनास्थलमै ज्यान गएको हो ।
ट्रक आयोजनाको सिभिल निर्माण ठेकेदार चिनी कम्पनी सिनो हाइड्रो कर्पोरेसन व्यूरो ६ कै हो । चिनियाँ कम्पनीले ल्याएका ट्रकहरू बाँयातिर स्टेरिङ भएकाले यातायात व्यवस्था कार्यालयले दर्ता समेत नगरेकाले नम्बर प्लेट समेत छैन ।
दुर्घटनामा परी मृत्युु भएका भट्टराई सिनो हाइड्रोकै पेटी ठेक्का लिएको फ्याफुल्ला कन्ट्रक्सनको सुपरभाइजरको रूपमा कार्यरत थिए । घटनाका प्रत्यक्षदर्शी प्रकाश कौसलका अनुसार सडकमा काम गरेका भट्टराई तलबाट ट्रक आएका देखेपछि उठेर ट्रक रोकेर चढ्न खोज्दा उनलाई किचेको हो । उकालोमा भार बोकेर आएको ट्रक नरोकिएपछि गुडिरहेको ट्रकमा भट्टराई चढ्न खोजेको कौसलले जानकारी दिए ।
अहसले प्रहरीले ट्रक चालक भुपेन्द्र साउथलाई नियन्त्रणमा लिएकोछ । प्रहरीले मृतकको लास पोष्टमार्टमका लागि चरिकोट ल्याउँदै छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।