दोलखालाई शैक्षिक गन्तव्य बनाउन ११ बुँदे प्रतिवद्धता

 आवाज संवाददाता     १० असार २०७४, शनिबार

दोलखा, असार १०

दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन ।

गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानीय तहमा उच्च शिक्षाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाले उच्च शिक्षालाई आधुनिक प्रविधिसँग जोडेर गुणस्तरीय बनाउने  प्रतिबद्धता जनाएका हुन् ।प्रतिबद्धता पत्रमा सामुदायिक क्याम्पसहरुलाई राजनीतिक हस्तक्षेप मुक्त गर्नुका साथै नियमित रेखदेख, अनुगमन र आवश्यक सहयोग गरी स्वामित्व ग्रहण गर्ने, उच्च शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउन सबै सरोकारवालाहरुको साझेदारी र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यसैगरी जिल्ला भित्रका सबै क्याम्पसहरुले विषय विविधिकरणलाई ख्याल गरी आपसी समन्वयमा भौगोलिक क्षेत्रलाई मध्यनजर गरी समाजको माग अनुसार फरकफरक  प्राविधिक विषयहरु सञ्चालन गर्ने, आवश्यकताको आधारमा जिल्ला भित्रका सामुदायिक क्याम्पसहरु एकआपसमा समायोजन गरी अस्वस्थ प्रतिष्पर्धा र खर्च घटाउँदै गुणस्तर अभिबृद्धिमा जोड दिने, शैक्षिक उपलब्धि मापनको आधारमा अनुदान उपलब्ध गराउने नीति अवलम्वन गर्ने  र स्थानीय सक्षम जनशक्तिलाई स्थानीय तहमा नै रोजगारीको लागि प्राथमीकता दिने, जिल्ला भित्र निश्चित समयावधिमा नियमित रुपमा शैक्षिक प्रदर्शनी गर्ने, उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको सिकाइ अनुभवहरु आदानप्रदानका लागि शैक्षिक भ्रमण गराउने लगायत बुँदाहरु समेटिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै  नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा सांसद पशुपति चौँलागाईले दोलखामा रहेका क्याम्पसहरु एकीकरण  गर्नुपर्ने अवस्था आएको बताए । उनले दोलखामा कुनै समय क्याम्पस खोल्नुपर्ने अवस्था रहेको भए पनि अब आवश्यकता अनुसार एकीकरण गर्नुपर्ने समय आएको बताए । त्यस्तै उनले गुणस्तरीय शिक्षातर्फ लाग्न सबै क्याम्पस प्रमुखहरुलाई आग्रह समेत गरे । त्यसैगरी सांसद तथा एमालेका केन्द्रीय सदस्य पार्वत गुरुङले अहिले नेपालको शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान स्थानीय तहबाटै गर्नुपर्नेमा जोड् दिए । अन्य विकास निरन्तर चल्ने प्रक्रिया भएकोले शैक्षिक विकास तत्कालीन आवश्यकता भएको कुरामा जोड दिए । यसैबिच भीमेश्वर नगर प्रमुख भरत केसीले नगरलाई शैक्षिक हवका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक खिलनाथ सापकोटाले नेपालमा सामुदायिक क्याम्पसहरुको अवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक क्याम्पसहरुमा र्र्आिर्थक अभाव, दक्ष जनशक्तिको अभाव, राजनीतिक हस्तक्षेप लगायत समस्याका कारण शैक्षिक गुणस्तर खस्किँदै गएको वताए । गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर प्रेम शर्मा, नेपाली काङग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी यज्ञराज  बोहोरा, जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपाल, शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल, कालिञ्चोक गाँउपालिकाका उपाध्यक्ष कालिका पाठक, गौरीशंकर बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष आत्माकृष्ण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । हाल जिल्लाको विगु र गौरीशंकर गाँउपालिका बाहेकका पाँच गाँउपालिका र दुई नगरपालिकामा ११ वटा क्याम्पसहरु रहेका छन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF