भारतीयकै कारण तामाकोसीमा ढिलासुस्ती

 आवाज संवाददाता     ११ असार २०७४, आईतवार

दोलखा, ११ असार
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा भारतीयकै कारण ढिलासुस्ती भएको छ । आयोजनाको लट २ अन्र्तगतको हाइड्रोमेकानिकलको कामले गर्दा आयोजनाको समग्र प्रगति प्रभावित भएको छ । आयोजनाको हालसम्म करिब ९० प्रतिशत काम पूरा भए तापनि हाइड्रोमेकानिकलकै आयोजना समयमै पूरा हुनेमा संका उत्पन्न भएको छ ।
आयोजनाको सिभिल, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको कामको लक्ष्य अनुसारकै प्रगति भए तापनि हाइड्रोमेकानिकलको कामले भने गति लिन सकेको छैन । हाइड्रोमेकानिकलको काममा आयोजनास्थलमा काम गर्ने कामदार पनि उपस्थितिका लागि मात्रै छन् ।
आयोजनाको हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड यन्जिनियरिङ लिमिटेडले पाएको छ । कम्पनीले आयोजनाको काम २०७२ बैशाख (३० अप्रिल २०१५)भित्र पूरा गर्ने गरी २०६८ फागुन १६ (२८ फेब्रुअरी २०१२) मा सम्झौता भएको थियो । तर सम्झौताको थप २ वर्ष बितिसक्दा समेत टेक्सम्याकोले साइडमा उल्लेख्य प्रगति गर्न सकेको छैन ।
सम्झौता अनुसार टेक्सम्याकोले काम गरेको भए २०७२ को भुकम्प अघि नै काम पूरा गर्नु पर्ने हो । तर त्यो बेलासम्म उसले साइडमा सामान समेत ढुवानी सुरु गर्न सकेन । त्यसपछि भुकम्प र नाकाबन्दीलाई निहु बनाएर आयोजनाको अवधी बढाए तापनि उसको काम अघि बढ्न सकेको छैन ।
टेक्सम्याकोले सन्तोषजनक रुपमा काम नगरेपछि उसको उच्च व्यवस्थापनसँग समेत आयोजना र ऊर्जा मन्त्रालयस्तरबाट समेत धेरै चरणमा बैठक बसि सकेको छ । ‘एक हप्ता अघि टेक्सम्याकोको उच्चस्थतरीय टोलीलाई भारतबाट बोलाएर साइडमै छलफल गरायौं’ आयोजनाका प्रवक्ता डा. गणेश न्यापानेले भने ‘हरेक कामको रिपोर्ट कम्पनीको उच्चस्तरबाटै मासिक रुपमा मागेका छौं, उनीहरुलाई हामीले नजिकबाट मोनिटर गरिरहेका छौं ।’ कम्पनीको उच्चस्तरीय टोलीले आयोजनाको काम समयमै पूरा गराउने प्रतिबद्धता गरेको उनले बताए ।
आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदी पर्दछन् । गेटहरु र स्टपलगहरुको काम भइ रहे तापनि पेनस्टक पाइप ढुवानीको काम चलिरहेको छ । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्ने भए तापनि हालसम्म आधा पाइप पनि ढुवानी हुन सकेको छैन ।
मेसिन, उपकरण र पाइप ढुवानीकै लागि सुनकोसी नदीमा ३ वर्षको हिउँदमा बनाएको डाइभर्सन समेत यो वर्ष समेत वर्षा सुरु भएर नदी बढ्न लागेकाले ठूलो हेम पाइपहरु निकाल्नु पर्ने भएको छ । एक पटक नदी डाइभर्सन गर्न एक करोडभन्दा बढी खर्च लाग्छ । नदीको डाइभर्सन भत्काउनु पर्ने भएकाले साइड पु¥याउन ढिलो हुने पाइपहरु सिन्धुपाल्चोकको सुनकोसी विद्युत केन्द्रसम्म ढुवानीको काम भइरहेको प्रवक्ता न्यौपानेले बताए ।
आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारणलाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रो मेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।