माथिल्लो तामाकोसीले बनायो, दोस्रो सुरुङमार्ग

 आवाज संवाददाता     १२ असार २०७४, सोमबार

दोलखा, १२ असार
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो सुरुङमार्गको निर्माण गरेको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्नको लागि सुरुङमार्ग निर्माण गरेको हो । दोस्रो सुरुङमार्गको शनिबार ब्रेक थ्रु भएको हो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्ने अर्को सुरुङमार्ग करिब ४ महिना अघिबाट निर्माण सुरु गरेको हो । आयोजनाले निर्माण गरेको यो दोस्रो सुरुङमार्ग हो ।
आयोजनाले गत भदौमा पहुँचमार्ग भत्किएर अबरुद्ध भएको माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्न १ सय १० मिटर लामो अर्को सुरुङमार्ग ‘रोड टनेल’को निर्माण सुरु गरेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले काब्रेभिरबाट २५ मिटर स्क्वाएर डायमिटरको १ सय १० मिटर लामो सुरुङ निर्माण गरेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । ‘१० मिटर अग्लो समतल स्थलसम्ममा सडक पु¥याउन अर्को ‘रोड टनेल’को निर्माण गर्नु परेको’ प्रवक्ता डा. न्यौपानेले बताए ।
गोंगरडाँडाको तल्लो ठाडो सुरुङबाट माथिल्लो ठाडो सुरुङसम्म पुग्ने पहुँचमार्गको ४ किलोमिटर सडक वर्षात् र भुकम्पपछि धेरै क्षतिपछि उपयुक्त विकल्प सुरुङमार्ग रोजेको उनले बताए । ४ किलोमिटर सडकको ६ वटा घुम्ती मध्ये तेस्रो घुम्तीमा सुरुङमार्ग निर्माण भएको छ । प्रवेशमार्ग अभावमा आयोजनाको पानीको प्रेसर थेग्ने माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्मका विभिन्न कार्यहरु रोकिएको थियो । आयोजनाको हालसम्म हालसम्म करिब ९० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
आयोजनाले यस अघि आयोजनाको हेडवक्स लामाबगरसम्म पुग्ने ३४० मिटरको सुरुङमार्ग निर्माण गरेको थियो । भुकम्पले सडक क्षतविक्षत भएपछि काब्रे भीरमा सुरुङमार्ग निर्माण गरेको हो । पहिलो सुरुङमार्ग सार्वजनिक सडकको रुपमा समेत प्रयोग हुने सुरुङमार्ग भए तापनि दोस्रो सुरुङमार्ग भने आयोजनाको आफ्नो प्रयोजनका लागि मात्र प्रयोग हुनेछ ।
आयोजनाको हेडरेस सुरुङबाट ल्याएको पानी पावर हाउससम्म लैजान दुई वटा ठाडो सुरुङ मध्ये एउटा पूरा भएको छ भने दोस्रो निर्माण कार्य जारी छ । तल्लो ठाडो सुरुङ ३७२ मिटरको छ भने माथिल्लो ३१० मिटरको छ । माथिल्लो ठाडो सुरुङको अब ७५ मिटर सुरुङ निर्माण हुन बाँकी छ ।
दोलखाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले नयाँ सार्वजनिक गरेको तालिकाभन्दा अघि विद्युत् उत्पादन हुने संकेत देखिएको आयोजना सम्वद्ध कर्मचारीहरु बताउँछन ।

तस्बिर सौजन्यः माथिल्लो तामाकोसी जलविद्युत आयोजना

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।