सिँगटी बजार संरक्षणको यो वर्षको काम अन्तिम चरणमा

 आवाज संवाददाता     १२ असार २०७४, सोमबार

दोलखा, असार १२
दोलखा जिल्लाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिँगटी बजार संरक्षण तथा सिँगटी नदी नियन्त्रणको पहिलो प्याकेजको काम अन्तिम चरणमा पुगेको छ ।
सामरिक तथा व्यापारिक महत्वको सिँगटी बजार संरक्षण तथा बचाउ अभियानका रुपमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दोलखाले सिँगटी नदी नियन्त्रणको लागि ‘आरसीसी काउण्टर फोर्ट रिटेनिङ वाल’ लगाउने कार्य गरिरहेको छ । ३ प्याकेजमा भैरहेको नदी नियन्त्रण कार्यको पहिलो प्याकेजको काम अन्तिम चरणमा पुगको हो । पहिलो वर्षको पहिलो प्याकेजको काम करिब ९० प्रतिशत सकिएको साइट इन्चार्ज इन्जिनियर रमानन्द चौधरीले जानकारी दिए ।
पहिलो प्याकेजमा नदीको सबैभन्दा तल्लो भागको १ सय ५० मिटरमा वाल लगाउने कार्य भैरहेको छ । नदीको सहतदेखि अढाइ मिटर गहिराइबाट ¥याफ्ट उठाएर ६ मिटर उचाइको वाल निर्माण गरिने भएकोले नदी नियन्त्रण मजबुत हुने जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दोलखाका प्रमुख नारायण सुवेदीले बताए । थप सुरक्षाका लागि आरसीसी वालमाथि ग्यावियन लगाइएको छ ।
नदी नियन्त्रण र बजार संरक्षण्को कामबाट स्थानीय बासिन्दा अत्यन्त खुशी भएको विगु गाउँपालिकाका प्रमुख तथा निर्माण व्यवसायी युधिष्ठिर खड्काले बताए ।
पहिलो प्याकेजको कामको लागि ५ करोड ३४ लाखमा ठेक्का सम्झौता भएको हो ।
सिँगटी नदी नियन्त्रण तथा बजार संरक्षणको लागि अर्को दुई प्याकेजको पनि टेण्डर भैसकेको छ । दोस्रो प्याकेज १ करोड ६३ लाख ७८ हजार र तेस्रो प्याकेज १ करोड ५३ लाख ८६ हजारमा सम्झौता भई काम सुरु भएको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दोलखाले दोलखा–सिँगटी–लामाबगर सडकको सिँगटी पुल भन्दा तल्लो भागमा नदी नियन्त्रण गरी सिँगटी बजार संरक्षण गर्न लागेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF