दोलखाको लाँकुरीडाँडामा मध्यरातमा पहिरो, एकको ज्यान गयो, ३ बेपत्ता

 आवाज संवाददाता     १४ असार २०७४, बुधबार

दोलखा, असार १४
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ९ कुटकुटे टोलमा आज राती गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने ३ जना वेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण आज राती करिब साँढे १ बजे कुटकुटे टोलमाथिबाट आएको पहिरोले दुई घर बगाउँदा शान्ति थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए । दुई घरका चार जना पहिरोले बगाएको मंगले थामीकी पत्नी ३५ वर्षीया शान्ति थामीको शव भेटिएको हो ।
पहिरोमा परी ७९ वर्षीया लाटी थामी, मंगले थामीकी छोरी द्वय १२ वर्षीया रोशनी थामी र १० वर्षीया सन्तोषी थामी वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पहिरो गएका बेला मंगले थामी चर्पी गएकाले बच्न सफल भएको बताइएको छ । बेपत्ता भएकी लाटी थामी घरमा एक्लै बस्दै आएकी थिइन् । अन्य स्थानीयहरु राती नजिकैको सुर्के मावि भण्डारेमा गई ज्यान जोगाएको स्थानीयले बताएका छन् ।
सो पहिरोका कारण अन्य १८ घर जोखिममा रहेको स्थानीयले बताएका छन् । त्यसैगरी लाकुरीडाँडाकै खानीडाँडामा आज बिहान गएको पहिरोले गणेशबहादुर श्रेष्ठको घर आधा बगाएको प्रहरीले जनाएको छ । उनको घरबाट सामान बगाए पनि मानिस र चौपायाको उद्धार भएको बताइएको छ ।
पहिरोले साविक लाकुरीडाँडा वडा नं ३ को कुटकुटेमा जनधनको क्षति भएपछि उद्धार र राहतका लागि प्रहरीको टोली पुगिसकेको बताइएको छ । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक सहितको टोली राहत सामग्रीसहित जाँदै गरेको बताइएको छ ।

तस्विर सौजन्यः नारायण श्रेष्ठको फेसबुक

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।