साँघु बगाउँदा रोल्वालिङ क्षेत्रमा नाकाबन्दी

 आवाज संवाददाता     २१ असार २०७४, बुधबार

दोलखा, २१ असार
रोल्वालिङ पदमार्गमा रहेको ठाडो खोलामा हालेको काठे साँघु बगाउँदा बेदिङ र ना गाउँ नाकाबन्दीमा परेका छन् । मंगलबार दिनभर र राती आएको भीषण वर्षापछि आएको बाढीले डोङाङभन्दा केही माथि रहेको आचार्यथोदुङ खोलामा हालेको साँघु बगाएको हो ।
खोलामा हालेको काठे साँघु बगाएपछि रोल्वालिङ क्षेत्रको आवतजावत बन्द भएको छ । रोल्वालिङ खोला आचार्यथोदुङ दोभान नजिक रहेकोले अन्यत्रबाट हिड्न समेत नसकिने अवस्था रहेको स्थानीय अगुवा धर्मराज आचार्यले जानकारी दिए । ‘दिउँसो त्यही बाटो हिँडेर आइयो, दिउँसोदेखि पानी परिरहेको थियो’ उनले भने ‘विहान त खोलाको काठे साँघु नै बगाएको खबर आयो ।’ भीरमा ठाडो खोला भएकाले नजिकै वैकल्पिक बाटो समेत नभएको उनले बताए ।
रोल्वालिङ पर्यटकीय क्षेत्र जाने बाटो नै यही हो । यही पदमार्ग हुँदै वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्र जाने गर्दछन् । च्छोरोल्पा हिमताल र वरपरका हिमशिखरहरुको अवलोकनका लागि मुख्य गरी पर्यटकहरु रोल्वालिङ क्षेत्र जाने गर्दछन् ।
मंगलबार दिउँसो मात्र जिविस दोलखाका पूर्व सभापति तथा नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का सहितको टोली च्छोरोल्पा भ्रमण गरेर त्यही बाटो फर्केको थियो । त्यस्तै स्थानीय सहित २ दर्जन बढी भरियाहरु समेत भारी बोकेर बेदिङ गएका छन् । काँग्रेस सभापति खड्काले आफू हिँडेर फर्केको बाटोको साँघु बगाएको कुरा स्थानीय प्रशासनलाई तत्कालै जानकारी गराएको बताए ।
रोल्वालिङ क्षेत्रमा सबै भरियाले बोकेकै भरमा खाद्यान्न पहुँच हुने हुँदा तत्कालै खोलामा साँघु हाल्ने व्यवस्था मिलाउन स्थानीय प्रशासन र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको जानकारी दिए । रोल्वालिङ क्षेत्रमा केही दिन यता लगायतार पानी परिरहेको छ । बेदिङमा रहेको साङछोलिङ गुम्बामा वार्षिक पूजा चलिरहेकाले काठमाडौँमा भएका स्थानीयहरु पनि गाउँ आएका छन् । गुम्बा पुनर्निर्माण कार्य चलिरहेकाले पुनर्निर्माणको सामान बोकेर भरियाहरु बेदिङ गइरहेका छन् ।
रोल्वालिङ क्षेत्र जानको लागि लामाबगरको छ्योतछ्योतसम्म गाडीको यात्रापछि ३ दिनमा बेदिङ पुगिन्छ । रोल्वालिङ पदमार्गको स्वीस सरकार विकास नियोगको सहयोगमा स्तरोन्नतिको काम समेत चलिरहेको छ । छ्योतछ्योतदेखि च्छोरोल्पा तालसम्मको ४० किलोमिटर पदमार्ग डेढ मिटर चौडाइ हुने गरी स्तरोन्नतीको काम चलिरहेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF