दोलखाका कृषकलाई अनुदानमा बोलेरो गाडी

 आवाज संवाददाता     २२ असार २०७४, बिहीबार

दोलखा, २२ असार/जिल्ला कृषि विकास कार्यालय दोलखाले ५० प्रतिशत अनुदानमा कृषक समूहलाई बोलेरो गाडी वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्र्तगत व्यवसायिक कृषि उत्पादन केन्द्र कार्यक्रमवाट दोलखाको एक कृषक समूहलाई जिल्ला कृषि विकास कार्यालय दोलखाले पिकअप भ्यान (बोलेरो) गाडी एक थान हस्तान्तरण गरेको हो ।
जिरी किवी फल सञ्चालक समिति जिरीलाई प्रदान गरिएको गाडी दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् । कृषि सामग्री तथा कृषि वस्तु ढुवानीमा सहजताको लागि उक्त गाडी वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय दोलखाका वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए ।
जिरी किवी फल सञ्चालक समितिका अध्यक्ष ओलकबहादुर जिरेललाई प्रमुख जिल्ला अधिकारी बाहोराले गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीका लागि नेपाल सरकारले ५० प्रतिशत अर्थात १० लाख ६२ हजार ५ सय सहयोग गरेको छ भने वाँकी ५० प्रतिशत सम्वन्धित समितिले व्यहोरेको छ ।
गाडी हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपाल, प्रमुख कोष नियन्त्रक रमेशप्रसाद शिवाकोटी, प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।