४ महिनाका लागि लप्चीमा नाकाबन्दी

 आवाज संवाददाता     २८ असार २०७४, बुधबार

दोलखा, २८ असार
दोलखाको उत्तरी चीन सीमाको अन्तिम वस्ती लामावगरस्थित लप्ची एक महिनादेखि नेपालतिर सम्पर्क विहीन बनेको छ । असार लागे लगत्तै खोलामा रहेको पुल भत्किएपछि ४ महिनाका लागि प्राकृतिक नाकाबन्दीमा परेको हो । अब यो वस्ती स्थलगत रुपमा नेपालतिर असोजसम्मका लागि सम्पर्क विहीन भएको हो ।
वर्षा सुरु भएपछि खोलामा पानी नघटेसम्म यो गाउँबासी तिब्बती बजार छुप्साङमा निर्भर रहनु पर्छ । वर्षात्मा प्रायः गरेर असारदेखि असोजसम्म उनीहरु तिब्बती बजारहरुमा मात्र निर्भर हुनुपर्छ । वर्षात् र हिउँ पर्ने सिजनमा यस्तो अवस्था भए तापनि उनीहरुका लागि यस्तो नाकाबन्दीको संकट २०७२ सालको भूकम्पपछि झन थपिएको हो ।
लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थलभन्दा करिब १०० मिटर उत्तरतिर झोलुङ्गे पुल भूकम्पका कारण भत्किएपछि ३० घरधुरीका १०० जना र गुम्बामा बसेका गरी करिब एकसय जना मानिस ४ महिनासम्म प्राकृतिक नाकाबन्दीमा परेको स्थानीय कर्मा शेर्पाले बताए ।
स्थानीयहरुको पहलमा तामाकोसी नदीमा हालिएको अस्थायी फलामको साँघु बर्षायाममा बढेको खोलाले बगाउने हुँदा झिकिने गरिन्छ । त्यसपछि मानिसको आवतजावत रोकिन्छ । यसबर्ष पनि असार लाग्ने वित्तीकै अस्थायी साँघु स्थानीयले झिकेका छन् । त्यो साँघु पुनः खोलामा पानी घटेपछि असोजमा हालिन्छ ।
‘अबको छ महिनासम्म हेलिकप्टरबाहेक नेपालतर्फ आउने कुनै उपाय छैन,’ स्थानीय लाक्पा शेर्पाले भने, ‘धन हुनेले त्यसो पनि गर्छन्, गरिबहरु त आपत नै परिहाले तिब्बततर्फको छुप्साङ बजारमा निर्भर हुन्छन् ।’ करिब दुईदिन लामो अर्को विकल्प छ तर त्यहाँ पनि प्रशस्त ठाडो खोलाहरु भएकाले बर्षायाममा मानिसहरु यताउता गर्न सक्दैनन् ।
यस वर्ष नेपाल र लप्ची ओहोर दोहोर गर्ने अन्तिम यात्रु नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष जीवन लामा लगाएको टोली परेको छ । लामा सहितको टोली असार पहिलो साता लप्ची भ्रमण पुगेर फर्किएको छ । भ्रमण दलका सदस्य ध्रुव आचार्यले भने, ‘जानेबेलामा हामी नफर्केसम्म पुल नझिक्नु भनेर अनुरोध ग¥यौं, तर फर्कदा त धमाधम पुल झिक्न थालिएको रहेछ ।’ साँधु झिकेर बाटो अवरुद्ध हुने त्रासले यात्रा पनि हतार हतारको भएको उनले बताए ।
गतबर्ष माथिल्लो तामाकोसी आयोजनाको सहयोगमा राखिएको पुल बगाएपछि यसबर्ष बेलैमा झिकेर अर्कोबर्षका लागि सुरक्षित गरिएको बताइएको छ । पुल झिकिएका कारण गतबर्ष एक हुल मजदूर असारदेखि पुससम्म लप्चीमै बस्नु परेको थियो ।
जोहो गर्न नसके तिब्बतमा किनमेल गर्न जानुपर्ने बाध्यता छ । ‘तर बिरामी परेर च्याप्दै गएमा मर्नुको पर्खाइमा बस्नु सिवाय उपया छैन,’ स्थानीय समाजसेवी युवा कर्मा शेर्पाले बताए । धेरैलाई समस्या परेमा हेलिकप्टरबाट पनि सेवा दिने गरेको तर टेलिफोनको निरन्तर सेवा नभएकाले कतिपय बेला त्यो पनि असम्भव हुने गरेको कर्माले दुखेसो गरे । कर्माले भने, ‘विकटताका कारण कतिपयको अकालमै ज्यान गएपछि लप्चीबासी जो नेपाली सीमाको नेपाली पहरेदार भएर बसेका छन उनीहरुको समस्या जिल्ला प्रशासनलाई पटकपटक सुनाउदै आएका छौ ।’


माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना र गौरीशंकर संरक्षण क्षेत्र आयोजनालगायतलाई पुल निर्माणको लागि पटकपटक आग्रह गर्दै आएका छन् । त्यो क्षेत्र माथिल्लो तामाकोसी पूरा भएपछि डुवान क्षेत्र हुने भएकाले वैकल्पिक बाटो बनाउनु पर्ने अवस्था छ ।
वैकल्पिक बाटो निर्माणको लागि अपर तामाकोशी हाईड्रोपावर कम्पनीले ८० लाख बजेट छुट्याएको छ । आयोजनाको ड्याम क्षेत्रभित्र पर्ने भएकाले जम्मा हुने पानीको सतह हेरेर बाटो र पुल सुधार गर्ने भन्दै उक्त बजेट हालसम्म खर्च भएको छैन् । लप्ची जाने बाटो समेत भीर पहरामा लहरा समातेर हिड्नु पर्ने भएकाले तामाकोसी आयोजनाकै सहयोगमा स्थानीयले गएको हिउँदमा गोरेटो बाटो समेत स्तरोन्नती गरे ।
चौरी पालन व्यवसायमा निर्भर लप्चीका वासिन्दा पढाइ सुविधा, स्वास्थ्य सुविधाबाट बञ्चित छन् । सीमाक्षेत्र भएता पनि गाउँमा प्रहरी चौकी छैन् । वस्ती सुरक्षा तथा तिब्बतसँगको चरिचरण र विनिमयमा पनि उनीहरु अपहेलित भैरहेको गुनासो जिल्ला प्रशासनमै दर्ता गराएका छन् । कतिपय समस्याहरु लप्ची मिलारेपा समिति र हुनेखानेले व्यक्तिगतरुपमै समाधान गर्दै आएको स्थानीयहरु बताउँछन् । गाउँलेका भनाईमा शिक्षक नवस्नाले गाउँमा बस्ने बालबालिकाले पढ्न नपाएपछि चौरी चराएर दिन काट्छन् । कतिपयले अहिलेसम्म सिटामोलसमेतको औषधि सुविधा पाएका छैनन् । जडिबुटीमा निर्भरता छ ।
उक्त सम्पूर्ण समस्याको समाधान आवतजावत गर्ने बाटो नै प्रमुख भएको लामावगरका राजनीतिकर्मीहरुको छ । तर, सरकार र विभिन्न निकायहरुले बर्षेनी सडक ट्रयाक खोल्ने र गोडेटो बाटोमा गरेको लगानी अर्थहीन बनिरहेको देखिन्छ ।
तस्बिर ः चीनको सिमाना लप्ची जाने तामाकोसी माथिको पुल ।
तस्बिर सौजन्यः ध्रुव आचार्य

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF