मानव बेचबिखन तथा ओसारपसारको आरोपमा ३ जना पक्राउ

 आवाज संवाददाता     २८ असार २०७४, बुधबार

दोलखा, असार २८/जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्राउ गरेको छ ।
चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार कार्य बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीनपा ३ स्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अन्य दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका अन्य दुई जना तामाकोशी गाउँपालिका ३ जफेका १९ वर्षीया सन्तोष भुजेल र १८ वर्षीय सुरोज पोखरेल रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
मानव किन्ने वा बेच्ने कसुर गरेमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तथा फाइदा लिइ वा नलिई वेश्यावृत्तिमा लगाएमा कसुरको मात्रा हेरी १० देखि १५ वर्षसम्म जरिवाना र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा व्यवस्था भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF