दोलखामा आलु चिप्स उद्योग स्थापना हुने

 आवाज संवाददाता     २९ असार २०७४, बिहीबार

दोलखा, २९ असार
दोलखामा उत्पादन भएको आलुबाट स्थानीयस्तरमा चिप्स उद्यो स्थापना हुने भएको छ । दोलखाका किसानहरुले आलु उत्पादन हरेक वर्ष बढाउँदै लगे तापनि त्यसको प्रशोधन र त्यसबाट फरक किसिमका उत्पादन निकाल्न नसक्दा किसानहरु मारमा पर्दै आएका बेला अहिले आफैं प्रशोन गरी चिप्स उद्योग स्थापनामा लागेका हुन् ।
आलु उत्पादनका लागि आधुनिक प्रविधि अपनाउनेदेखि आलुलाई उद्योगको रुपमा विकास गर्ने गरी किसानहरुले योजना बनाएका छन् । दोलखामा आलु खेती गर्ने अगुवा किसानहरुले विहीबार ५ वर्षभित्र आलुबाट चिप्स उद्योगसम्म खोल्नेसम्मको योजना बनाएका छन् । किसानहरुको योजनामा दोलखा उद्योग वाणिज्य संघले साथ दिने भएको छ ।
किसानहरुले आलु खेतीलाई समयानुकुल आधुनिक रुपमा गर्ने, प्रशोधन, ब्राण्डिङ, भण्डारण, बजारिकरण र त्यसबाट उद्योग समेत स्थानीयस्तरमा नै सञ्चालन गर्ने योजना बनाएका छन् । किसानहरुको योजनामा दोलखा उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादन कार्यक्रमले विहीबार चरिकोटमा आयोजना गरेको योजना तर्जुमा कार्यक्रम मार्फत योजना बनाउने, तालिम, समन्वय र उद्योग स्थापनासम्म साथ दिने प्रतिबद्धता गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्योम केन्द्रको सहयोगमा दोलखा उद्योग वाणिज्य संघले दोस्रो चरणमा एक गाउँ एक उत्पादनका लागि आलु खेतीलाई रोजेको छ । दोलखामा आलु उत्पादन बढ्दै गएकाले संघले यसको थप प्रबद्र्धनका लागि रोजेको अध्यक्ष सुन्दर कार्कीले बताए । संघले पहिलो चरणमा आफ्नो कार्यक्रममा गौरीशंकर, विगू वैत्यश्वर र शैलुङ्गेश्वर गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा रोजेको छ ।
दोलखाको आलुको बजार राम्रो भएकाले त्यसलाई समयानुकुल गर्नु आवश्यकता रहेको अध्यक्ष कार्कीले बताए । “हाम्रो आलु अहिले मुडेको आलुको रुपमा कौडीको भाउमा गइरहेको छ” उनले भने “किसानहरुलाई व्यवसायिकरण गरेर त्यसको राम्रो भण्डारण गरेर बढी मूल्य पाउँने सिजनमा मात्र बेच्न सक्दा पनि किसानले राम्रै फाइदा लिन सक्छन् ।” किसानहरुले बनाएको योजना अनुसार ५ वर्षभित्र जसरी पनि आलूको चिप्स बनाउने उद्योग स्थापना गर्ने अन्तिम लक्ष्यमा संघले पूर्ण सहयोग गर्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य सुदर्शन कार्कीले दोलखाको आलु बजारको हिसावले स्थानीय बजार र सिधै राजधानी र तराई पुग्ने भएकाले पनि राम्रो रहेको बताए । आलुका फरक फरक परिकारका उत्पादन र समयलाई ख्याल गर्ने हो भने किसानहरुको सधैं उत्साहकै दिन हुने बताए ।
“आलु हाम्रोमा प्रशस्त फल्छ, तर त्यसका परिकार विदेशबाट प्याकिङ गरेको महङ्गोमा किनेर खान्छौं” उनले भने “अब आफ्नै आलुबाट उत्पादन हुने फरक फरक परिकार प्याकिङ गरेर सुपरमार्केटमा राखेर बेच्ने विकल्प खोज्नु पर्छ, यसमा महासंघको पूर्ण साथ हुनेछ ।” एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत दोलखा उद्योग वाणिज्य संघले सिंगटी र शैलुङ क्षेत्रका किसानहरुसँग समेत छलफल गरिसकेको छ ।
आलुलाई दोलखाकै ब्राण्ड बनाउन जिल्ला कृषि विकास कार्यालय र जिल्ला समन्वय समितिले अघिल्लो वर्षदेखि नै अभियान थालेका छन् । पहिलो चरणमा दोलखाको आलु लेखिएको बोरा छापेर किसानहरुलाई वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नारायण श्रेष्ठले यो वर्ष पनि किसानहरुलाई बोरा बाँडिएको बताए ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार वार्षिक ४५ हजार मेट्रिक टन आलु उत्पादन भइरहेको जानकारी दिएको छ । त्यस मध्ये वर्षे आलु ३८ हजार २ ५० मेट्रिक टन र हिउँदे आलु ६ हजार ७ सय ५० टन उत्पादन भएको प्रमुख श्रेष्ठले बताए । उत्पादन भएको आलु मध्ये १८ हजार टन जिल्ला बाहिर निकासी हुने, १० हजार टन बीऊको रुपमा प्रयोग हुने र १२ हजार टन स्थानीयले उपभोग गर्ने गरेका छन् ।
आलुको बीयाँबाट बीऊ उत्पादन गर्दै आएका किसान जगत श्रेष्ठले उत्पागत्व बढाउन बीऊ पनि परिवर्तन गर्दै जानु पर्ने बताए । भण्डारणमा सजिलो र थोरै बीऊबाट धेरै ठाउँमा पुग्ने गरी अब टिपीएस प्रविधिबाट उत्पादित बीऊ प्रयोगमा सबैको ध्यान जान जरुरी भएको उनले बताए । दोलखामा विभिन्न संघ संस्थाले आलुको सित भण्डारको समेत स्थापना गरिरहेका छन् ।
कार्यक्रम घरेलु तथा साना उद्योग मुख्य शाखा दोलखाका उद्योग अधिकृत राममबहादुर राना, जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत नारायण सेढाईले आलु खेतीको विस्तार र बजारीकरणमा जोड दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।