११ जना एआईजी र १५ जना डीआईजीमा बढुवा, सिलवाल परेनन्

 आवाज संवाददाता     ३१ असार २०७४, शनिबार

काठमाडौं, ३१ असार । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

तर, डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । आईजीपीका दाबेदार रहेका उनले हालेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।

बढुवा सिफारिस समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी र जयबहादुर चन्द छन् । दुबै आईजीपीका दाबेदार थिए ।

प्रचण्ड सरकारले सुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । तर, आईजीपीका दाबेदार नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । यो मुद्दा अझै विचाराधीन छ ।

भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ ।

यस्तै एआईजीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

त्यसैगरी गृह मन्त्रालयले १५ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गरेको छ ।
डीअाइजीमा बढुवा हुनेमा सर्वेन्द्र खनाल, रमेश प्रसाद खरेल, पुष्कर कार्की, उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञान विक्रम शाह, ठुले राई, शरद चन्द्र, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेश विक्रम शाह रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF