दोलखाका पत्रकारलाई वन्यजन्तु संरक्षण तालिम

 आवाज संवाददाता     १ श्रावण २०७४, आईतवार

दोलखा, साउन १
स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुका बारेमा केही गल्ती कमजोरी भए त्यसलाई सुधार गर्ने गरी समाचार प्रकाशन प्रशारण गर्न भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले आग्रह गरेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा शनिवार भएको गैरकानुनी वन्यजन्तु व्यापार नियन्त्रणका लागि नियम कानुन विषयक एक दिने पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख केसीले सरकारले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आफैँलाई कानुन बनाउने अधिकार दिएको तर जनप्रतिनिधिहरु यस विषयमा अनभिज्ञ रहेको समेत बताए ।
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजना तथा गौरीशंकर संरक्षण क्षेत्रको सहकार्यमा भएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ३६ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले गौरीशंकर संरक्षण क्षेत्रको परिचय, भावी रणनीति लगायतका बारेमा प्रशिक्षण दिएका थिए भने राजधानी दैनिकका सविन शर्माले वातावरण संरक्षणमा सञ्चार माध्यमको भुमिका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी गैरकानुनी वन्यजन्तु व्यापार नियन्त्रणको लागि व्यवस्था गरिएको नीति नियमहरुका विषयमा आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले प्रशिक्षण दिएका थिए ।
तालिम कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र दोलखा अध्यक्ष जीवन लामाले मन्तव्य व्यक्त गरेका थिए ।

तस्विरः सुवास याेञ्जनकाे फेसबुक

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF