कृषि र सडकलाई जोड दिँदै तामाकोशी गाउँपालिकाको सभा सम्पन्न

 आवाज संवाददाता     १ श्रावण २०७४, आईतवार

दोलखा, साउन १
तामाकोसी गाउँपालिकाको प्रथम गाउँसभा कृषि विकास र सडक निर्माणमा जोड दिँदै सम्पन्न भएको छ ।
कृषि क्षेत्रको विकासबाट समृद्ध तामाकोसी गाँउपालिका वनाउने नीति तथा कार्यक्रम सहितको करिव २७ करोड ४१ लाख ८२ हजार ५ सय १० रुपैयाँको वजेट गाँउपालिका उपप्रमुख उर्मिला खड्का केसीले प्रस्तुत गरिन् । प्रस्तुत बजेटमा सशर्त अनुदान तर्फ १० करोड ९३ लाख ९१ हजार, आन्तरिक आय तर्फ १ करोड ८८ लाख ५ सय १० रुपैयाँ र नेपाल सरकारले प्रदान गर्ने १४ करोड ४९ लाख १ हजार रहेको छ ।

गाउँपालिकाले कृषिमैत्री नीति निर्माणमा जोड दिएको छ भने कृषि उत्पादनमा आत्मनिर्भरताका लागि उत्पादन पकेट क्षेत्रको नीति अगाडि सारेको छ । नीति तथा कार्यक्रममा पशुपालन कार्यक्रम, एक घर एक स्वाथ्यकर्मी, अनिवार्य स्वस्थ्य विमा गर्नुपर्ने लगायतको कार्यक्रम समावेश गरिएको छ ।

तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय विकास अधिकारी शंकर नेपाल, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, समाजसेवी हरिप्रसाद शर्मा, नेपाली काङग्रेसका कुमार भुजेल, एमाले तामाकोसी गाँउपालिकाका संयोजक जिवसराज खड्का, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तस्विरः  विकज पाेखरेलकाे फेसबुक

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।