दोलखामा पुँजीगत खर्च ७६ प्रतिशत आधाभन्दा बढी खर्च असारमा

 आवाज संवाददाता     १ श्रावण २०७४, आईतवार

दोलखा, १ साउन
दोलखा जिल्लाका विकासे कार्यालयहरुले आर्थिक वर्ष २०७३÷७४ मा दोलखामा ७६ प्रतिशत पुँजीगत खर्च गरेका छन् । दोलखाको पुँजीगत खर्च राष्ट्रिय बजेट खर्चभन्दा ११ प्रतिशत बढी हो ।
तर पुँजीगत खर्च मध्ये आधाभन्दा बढी खर्च असारमा मात्र गरेका छन् । आ.व. २०७३÷७४ मा दोलखा जिल्लामा ३ अर्ब २३ करोड ९० लाख ६१ हजार अख्तियारी आएकोमा २ अर्ब ४८ करोड ७२ लाख ३३ हजार खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले गत आर्थिक वर्षको वार्षिक खर्चको जानकारीका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सरकारकोभन्दा बढी खर्च गर्न सफल भएको जानकारी दिएको हो ।
दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीका अनुसार दोलखाका सरकारी कार्यालयहरुले असार मसान्तमा मात्र ५०.७६ प्रतिशत खर्च भएको जानकारी दिए । पुँजीगत खर्च मध्ये असारमा मात्र १ अर्ब २६ करोड २४ लाख ७८ हजार खर्च भएको बताए । विगतमा झै आर्थिक वर्षको अन्तिममा माथिबाट बजेटको अख्तियारी आउने रोगले पनि असारको खर्च बढी देखिएको उनले बताए ।
बजेट खर्च गर्ने सबैभन्दा अग्रस्थानमा एक दर्जन बढी कार्यालयहरु रहेका छन् । जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय, सिमा प्रशासन कार्यालय, पुर्न निर्माण प्राधिकरण, सरकारी वकिलको कार्यालय, लगायतले सत प्रतिशत खर्च गरेका छन् । त्यस्तै थप एक दर्जन कार्यालयले ९७ प्रतिशत बढी खर्च गरेको मुख्य कोष नियन्त्रक शिवाकोटीले जानकारी दिए ।
त्यसैगरी कम खर्च गर्ने विकासे कार्यालयहरमा जिल्ला प्राविधिक कार्यालय, भुकम्पीय आवास पुर्ननिर्माण आयोजना, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, सम्पर्क कार्यालय दुर्गम क्षेत्र विकास समिति, दोलखा जिल्ला अदालत लगायतका कार्यालयहरु रहेका छन् । दुर्गम क्षेत्र विकास समितिले सबैभन्दा कम २२ प्रतिशत खर्च गरेको छ । त्यस्तै दोलखा– सिंगटी सडक आयोजनाले ३३ प्रतिशत र जिल्ला स्वास्थ्य कार्यालयले ३७ प्रतिशत मात्र पुँजीगत खर्च गरेका छन् ।
दोलखामा चालु खर्च तर्फ ७ अर्ब ६८ करोड ९४ लाख ८७ हजार अख्तियारी आएकोमा ८५.९ प्रतिशत अर्थात ६ अर्ब ६० करोड ५० लाख ३७ हजार खर्च भएको छ । त्यसमध्ये चालु तर्फ असार मसान्तमा मात्र १ अर्ब ३५ करोड ८१ लाख ८४ हजार खर्च भएको छ ।
प्रमुख कोष नियन्त्रक शिवाकोटीले अहिले अख्तियारी अनुसारको रकम कार्यालयले काम गरेअनुसार निकासा दिने व्यवस्था भएकाले पनि बढी खर्च भएको देखिएको बताए । निजी आवास अनुदान तर्फ ८५ करोड फ्रि गएको छ । चालु तर्फ यो रकम कटाउँदा ९६ प्रतिशत खर्च देखिने उनले बताए । निजी आवास अनुदान तर्फ ४ अर्ब ९ करोड २५ लाख ६४ हजार ६२० खर्च भएको छ । भुकम्प पीडितहरुको निजी आवास पुर्न निर्माणका लागि ५२ हजार २६६ पीडितहरु मध्ये ४८ हजार पहिलो किस्ता, ७ हजार ८ सय ६० दोस्रो किस्ता र १०६ जनाको नाममा तेस्रो किस्ता कोलेनिकाबाट निकासा भएको उनले जानकारी दिए ।
दोलखाका ७० वटा कार्यालयले गत आर्थिक वर्ष ३९ करोड ९४ लाख ४९ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिए । जुन अघिल्लो आर्थिक वर्षभन्दा ३९.५९ प्रतिशत बढी भएको उनले बताउ । त्यस मध्ये १९ करोड ४० लाख ९३ हजार बेरुजु दाखिला भएको छ । कोलेनिकाले गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पत्रकार सम्मेलन गरी आफ्नो कार्यालयको तर्फबाट सरकारी आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सरकारी खर्च सार्वजनिक हुँदा त्यसले सबैलाई जानकारी हुने र दुरुपयोग हुनबाट समेत रोक्न सहयोग पुग्ने बताए । पुँजीगत खर्चको हरेक कार्यालयबाट खर्चको फाँटबारी समेत लिएर स्थलगत रुपमा निरीक्षण गर्न र काम नभएको देखिए तुरुन्त आफूलाई खबर गर्न समेत आग्रह गरे ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।