१३ सहकारी खारेज

 आवाज संवाददाता     ४ श्रावण २०७४, बुधबार

दोलखा, ४ साउन
दोलखा र रामेछापका १३ वटा सहकारी संस्थाहरु खारेजीमा परेका छन् । डिभिजन सहकारी कार्यालय चरिकोटले २ वर्षदेखि लेखापरीक्षण नगराएको र साधाराण सभा गरी प्रतिवेदन समेत नबुझाएकोले खारेज गरेको हो ।
खारेजीमा परेका सहकारी संस्थाहरु दोलखाका ६ वटा र रामेछापका ७ वटा संस्थाहरु परेका छन् । डिभिजन सहकारी कार्यालयले सहकारी संस्था अहिले कुन अवस्थामा छ, सञ्चालनमा भए साधारण सभाको प्रतिवेदन सहित ३५ दिन भित्र नवीकरण गर्नका लागि समेत हद म्याद दिंदा समेत सञ्चालनमा नआएपछि खारेज गरेको हो ।
निष्कृय सहकारीहरुलाई खारेजीको प्रक्रिया सहित ३५ दिने सूचना जारी गरिन्छ । ३५ दिन भित्र सम्पर्कमा नआएका सहकारी संस्थाहरुलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालय चरिकोटका सहकारी अधिकृत टोपलाल अर्यालले जानकारी दिए । उनका अनुसार दोलखाका खारेज हुने सहकारी संस्थाहरुमा भीनपा ९ लाँकुरीडाँडाको पशुपालन तथा कृषि उपज बहुउद्देश्यीय सहकारी संस्था लि., जिरी ९को युलुङ साकोस, वैत्यश्वर ६ को सेतिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि, मेलुङ ७ घ्याङको पाथिभरा बहुउद्देश्यीय सहकारी संस्था लि., बुलुङदुग्धेश्वरी सामुदायिक विकास सहकारी संस्था लि. र लामाबगरको तिर्थलप्ची मिलादेवी बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन् ।
आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तसम्म दोलखामा ५ सय २९ र रामेछापमा ४ सय २० वटा सहकारी संस्था दर्ता भएका छन् । दुवै जिल्लाका सहकारीहरु मध्ये ६७ प्रतिशत सहकारी संस्थाहरुले मात्र नियमित साधारण सभा गर्ने र कार्यालयलाई प्रतिवेदन बुझाउने गरेका छन् । सहकारी ऐन २०४८ को नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ अनुसार हरेक आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण गर्ने अनुमति लिएर ६ महिना अर्थात पुस भित्र साधारण सभा समेत गरेर प्रतिवेदन बुझाइ सक्नु पर्ने प्राव्धान छ ।
दोलखाका सहकारी संस्थाहरुको ५ अर्ब बढी कुल सम्पति रहेका छ । विगतमा लहरमा सहकारी संस्थाहरु खुले तापनि पछिल्ला समयमा एक अर्कामा एकीकरणमा जानका लागि सरकारी तथा संघहरुले दबाब समेत दिंदै आएका छन् । दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले झोलामा कार्यालय सञ्चालन गर्ने र नियमित सञ्चालन गर्न नसक्ने सहकारी संस्थाहरु अर्कोमा मर्ज गर्न सुझाव दिन्छन् । सञ्चालन र मर्जरमा समेत जान नसक्ने सहकारी संस्थाहरुलाई खारेज गर्नु पर्ने संघको समेत धारणा रहेको उनले बताए । यस अघि पनि दोलखाका १८ वटा सहकारी संस्थाहरु खारेजीमा परेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF