टेलिफोनको भरमा मात्रै सूचना संकलन नगर्न पत्रकारलाई आग्रह

 आवाज संवाददाता     ५ श्रावण २०७४, बिहीबार

दोलखा, साउन ५
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले टेलिफोनको भरमा मात्र सूचना सङ्कलन गर्ने परिपाटीको अन्त गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित सूचनाको हकसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि आयुक्त पोखरेलले तथ्यपरक सूचना सम्प्रेषण गर्नका लागि पत्रकारहरु टेलिफोनको मात्रै भर पर्नु नहुने बताए । उनले सूचनाको हकको ऐनको कार्यान्वयनबाट मात्रै स्वतन्त्र पत्रकारिता र जनताको सूचनाको हक स्थापित हुने भएकोले पत्रकारहरुलाई तथ्यपरक र विश्वसनीय पत्रकारित गर्न आग्रह गरे ।
आयुक्त पोखरेलले लोकतन्त्रमा जनता सर्वोपरि शक्ति भएकाले जनताले मागेको सूचना दिनु सेवा प्रदायीको दायित्व भएको बताए । उनले सरकारी सार्वजनिक निकायले विभिन्न बहानामा सूचना नदिने गरेको उल्लेख गर्दै सूचनाको हकको ऐनमा उल्लिखित ५ प्रकारका सूचना बाहेक सबैखाले सूचना उपलब्ध गराउनुपर्ने बताए ।
अन्तक्रिया कार्यक्रममा गोरखापत्रका कार्यकारी सम्पादक शिव कुमार भट्टराई र राष्ट्रिय सूचना आयोगका उपसचिव अच्युत कुमार पौडेलले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गरेक थिए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, राष्ट्रिय सूचना आयोगका सहसचिव भुवनहरि अर्याल, जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपाल, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामा, नेकपा एमालेका धमेन्द्र मोक्तान, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

के हुन् प्रवाह नगरिने ५ प्रकारका सूचना ?
सूचनाको हकको ऐन २०६४ मा निम्न ५ प्रकारका सूचना प्रवाह गरिने छैन भनी उल्लेख गरिएको छ ।
(क) नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने,
(ख) अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,
(ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिकोे संरक्षण वा
बैङ्किङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने,
(घ) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने,
(ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति स्वास्थ्य वा सुरक्षामा खतरा पु¥याउने ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF