चरिकोटमा लाखे जात्रा सुरु

 आवाज संवाददाता     ७ श्रावण २०७४, शनिबार

दोलखा, ७ साउन
दोलखा सदरमुकाम चरिकोटमा परम्परागत रुपमा देखाइँदै आएको लाखे जात्रा आजदेखि सुरु भएको छ । चरिकोट बजारस्थित लालीगुराँस युवा क्लबको आयोजनामा लाखो जात्रा देखाउने गरिएको छ ।
गठेमंगल अर्थात घण्टाकर्णको दिनदेखि विधिपूर्वक पूजाआजा गरेपछि त्यसको भोलिपल्टबाट लाखे जात्रा देखाउने प्रचलन छ । लाखे जात्रा नेवारी परम्परामा आधारित छ ।
परम्परादेखि नै चरिकोट बजारमा लाखे जात्रा देखाउने गरि पनि बाजा बजाउने मानिस र खर्चको कमीका कारण जात्रा चलाउन हम्मे परेको लालीगुराँस युवा क्लबका अध्यक्ष विमल श्रेष्ठ बताउँछन् । भीमेश्वर नगरपालिकाको सहर्पाबाट बाजा बजाउन आउने गरेकोमा केही वर्षदेखि बाजा बजाउने मान्छेको अभाव भएकाले ऐतिहासिक दोलखा सहरबाट ल्याइएको बताए । अध्यक्ष श्रेष्ठले सहनाइ र ढोलक बजाउने मान्छे दोलखाबाट ज्यालामा ल्याउनुपरेको बताए ।
बाजा बजाउने मान्छे र खर्चको कमीका कारण जात्रा चलाउन समस्या भएको क्लबका अध्यक्ष श्रेष्ठको भनाइ छ । भीमेश्वर नगरपालिकाले दिने वार्षिक ५० हजार र आफूआफूले उठाएको रकमबाट लाखे जात्रा र गाईजात्रा चलाउने गरेको उनको भनाइ छ ।
लाखेलाई राक्षसको रुप मानिन्छ भने घण्टाकर्णको भोलिपल्टदेखि लाखे नाचलाई चरिकोट बजार घुमाइन्छ । यसरी सुरु भएको लाखे जात्रा कृष्णजन्माष्ठमीको भोलिपल्ट कृष्णले लाखे मारेपछि विधिपूर्वक जात्रा सकिन्छ ।

sdr

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।