दोलखाका स्थानीय तहलाई पहिलो किस्ता निकासा

 आवाज संवाददाता     ८ श्रावण २०७४, आईतवार

दोलखा, ८ साउन

दोलखाका स्थानीय तहका लागि चालु आर्थिक वर्षका लागि पहिलो किस्ता बजेट निकासा भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले आइतबार सबै स्थानीय तहका प्रमुखहरुलाई बोलाइएर पहिलो किस्ता बापतको चेक हस्तान्तरण गरेको छ ।
पहिलो किस्ता लिनका लागि २ नगरपालिका र ५ गाउँपालिका प्रमुखहरुले कोष तथा लेखा नियन्त्रण कार्यालयमा उपस्थित थिए । आर्थिक वर्ष सुरुवातको पहिलो साता भित्रै निकासा पाएपछि स्थानीय तहमा चाँडै विकासको कामले गति लिने विश्वास गरिएको छ । आइतबार विहानै भएको चेक हस्तान्तरण कार्यक्रममा विगू गाउँपालिका र वैत्यश्वर गाउँपालिकाका प्रमुखहरु भने उपस्थित थिएनन् ।
पहिलो किस्ता बुझ्ने क्रममा अधिकाँश गाउँपालिका अध्यक्षहरुले कर्मचारी अभाव र स्पष्ट नियमावलीको अभावमा रकम पाए तापनि खर्च गर्न नसकिने हो कि भन्नेमा आशंका व्यक्त गरे । नेकपा एमालेका अध्यक्ष समेत रहेका तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले सरकारले काम गरे भनेर रकम त दिए तापनि हात खुट्टा बाँधेर अधिकार दिएको बताए । ‘सरकारले काम गर भनेर अधिकार दियो, पैसा पनि बेलैमा पठायो’ उनले भने ‘तर न कर्मचारी व्यवस्थापन छ न स्पष्ट कानुन छ कसरी काम गर्ने ?’
गाउँपालिका अध्यक्षहरुले साँंसद पशुपति चौलागाईलाई समयमा स्थानीय तह सञ्चालनका लागि नियमावली पठाउँनका लागि आग्रह गरे । अधिकाँश गाउँपालिका अध्यक्षहरुले सरकारले स्थानीय तहलाई अधिकार दिएको पनि भन्ने तर स्पष्ट कानुन पनि नबनाउँदा आफूहरुलाई का मगर्न अन्यौंल भएको बताए ।
सांसद पशुपति चौलागाईले स्थानीय तहमा कर्मचारी पठाउँदा सामान्य प्रशासनको कर्मचारी पठाउँनु पर्ने तर प्रयाप्त कर्मचारी नभएकाले पनि तत्काल केही समस्या पाएको बताए । स्थानीय तहमा काम गर्नका लागि अन्यौलता हटाउँनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
दोलखामा २ नरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन् । गत आर्थिक वर्ष सरकारले विनियोजन गरेको ५२ लाख र ४८ लाख मध्ये ४८ लाख कुनै पनि गाउँपालिकाले खर्च गर्न सकेनन् । तर ५२ लाख भने कार्यालय व्यवस्थापन र खरिदमा नै अधिकाँश रकम खर्च गरेका छन् ।
नेपाल सरकारले दोलखाका स्थानीय तहका लागि २ अर्ब ३५ करोड ८४ लाख १८ हजार विनियोजन गरेको छ । त्यस मध्ये वित्तीय समानिकरणमा १ अर्ब ४४ करोड १७ लाख २ हजार र सर्शत अनुदान तर्फ ९१ करोड ६७ लाख १६ हजार रहेको छ । अर्थमन्त्रालयबाट कोलेनिकामा साउन १ गते नै अख्तियारी प्राप्त भएकोमा एक हप्ता भित्रै सम्बन्धित स्थानीय तहमा निकासा पठाएको मुख्य कोष नियन्त्रक रमेश शिवाकोटीले जानकारी दिए ।

कुन स्थानीय तहले कति निकासा पाए ?

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार वित्तीय समानिकरण र सर्शत अनुदान गरी दुवै तोकेर चौमासिक रकम निकासा गरेको जानकारी दिएको छ । पहिलो चौमासिक साउन, दोस्रो मंसिर र तेस्रो चैतमा निकासा हुनेछ । कोलेनिकाले गत आर्थिक वर्षमा गाउँपालिकाले खर्च गर्न नसकेको ४८ लाख सहितको रकम फ्रिज नगर्ने व्यवस्था अनुसार सम्बन्धित स्थानीय तहमा फिर्ता गरिसकेको मुख्य कोष नियन्त्रक शिवाकोटीले जानकारी दिए ।
निकासा भएको मध्ये जिरी नगरपालिकाले वित्तीय समानिकरण तर्फ ५ करोड र सर्शत अनुदान ३ करोड १० लाख ६६६ गरी ८ करोड १० लाख ६६६ प्राप्त गरेको छ । जिरी नगरपालिकाले वार्षिक वित्तीय समानिकरण तर्फ १५ करोड र सर्शत अनुदान ९ करोड ३० लाख २ हजार गरी कुल २४ करोड ३० लाख २ हजार रहेको छ ।
भीमेश्वर नगरपालिकाले वित्तीय समानिकरण तर्फ वित्तीय समानिकरणको वार्षिक १९ करोड १ लाख ८७ हजार मध्ये पहिलो किस्ता ६ करोड ३३ लाख ९५ हजार ६६६ र सर्शत अनुदान तर्फ १५ करोड २५ लाख ६३ हजार मध्ये ५ करोड ८ लाख ५४ हजार ३३३ गरी पहिलो किस्ता जम्मा १५करोड ४२ लाख ४९ हजार ९९९ प्राप्त गरेको छ ।
कालिञ्चोक गाउँपालिकाले ९ करोड ४४ लाख ८९ हजार ६६६, गौरशिंकर गाउँपालिकाले ८ करोड ६३ लाख १७ हजार ३३३, तामाकोसी गाउँपालिकाले ८ करोड ३२ लाख ९३ हजार ९९९, वैत्यश्वर गाउँपालिकाले ७ करोड ४८ लाख ४५ हजार ३३३, मेलुङ गाउँपालिका ८ करोठ ३ लाख ४८ हजार, विगू गाउँपालिका ९ करोड ४० लाख ३२ हजार ३३३ र शैलुङ गाउँपालिकाले ७ करोड ७५ लाख ६१ हजार ९९९ निकासा पाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF