आखेटोपहारसहित एकजना पक्राउ

 आवाज संवाददाता     १३ श्रावण २०७४, शुक्रबार

दोलखा, साउन १३
दोलखा प्रहरीले भीमेश्वर नगरपालिका ९ लाकुरीडाँडा जसमन्तेबाट वन्यजन्तुको आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ ।
खरिढुङ्गा प्रहरी चौकीले जसमन्तेका बमबहादुर श्रेष्ठलाई विभिन्न आखेटोपहारसहित पक्राउ गरेको हो । उनको घरमा लुकाइ राखेको चितुवाको जस्तो देखिने हड्डी एक थान, सुकटी बनाएको मासु डेढसय ग्राम, दुम्सीको दाँत, दाह्रा, काँडा र भुँडी सहित पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ । घरको छानामुनि तन्नामा लुकाई राखेको अवस्थामा ती आखेटोपहारसहित उनलाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भक्तपुरबाट चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको र तिनैको जानकारीको आधारमा बमबहादुर श्रेष्ठको घर खानतलासी गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठले चितुवा मारी त्यसको छाला बिक्री गरेको भन्ने सीआइबीको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF