निजी आवास बनाउन ओराङ र बुलुङका लाभग्राहीलाई थप ५० हजार

 आवाज संवाददाता     १४ श्रावण २०७४, शनिबार

 

दोलखा, १४ साउन
विगू गाउँपालिका २ ओराङ दुर्गा खत्री भुकम्पले भत्केको घर बनाएपछि दोस्रो किस्ता लिनका लागि सिंगटी पुगिन । दोस्रो किस्ता वापत उनले १ लाख ५० हजार पाउने भए तापनि उनले २ लाख पाइन् । ५० हजार चाँही सामान ढुवानी वापत दिएको रे उनले खुशी हुँदै भनिन् ।
सरकारले भुकम्प प्रतिरोधि घर बनाउन अनुदान दिने खबर सुनेर आफैंले घर बनाएको दुर्गाले बताइन् । सरकारले ३ लाख अनुदान दिए तापनि घर बनाउन बढी खर्च लागेको छ । “घर त बनि सकेको छ, बजारमा सामान महङ्गो छ, का मगर्ने मान्छे पाइदैन” उनले भनिन् “घर बनाउँदा ऋण लागेको छ, थप ५० हजारले पनि केही भरथेग गर्ला ।”
विहीबार र शुक्रबार ओराङबाट दोस्रो किस्ता र ढुवानी खर्च लिनेको सिंगटीमा भीड नै लागेको थियो । लक्ष्मी बैंकले आवास अनुदान रकम वितरणको जिम्मा पाए तापनि सिंगटीमा लक्ष्मी बैंकको शाखा नरहेकोले बैंककै सहायक कम्पनी लक्ष्मी लघुवित्त मार्फत अनुदान वितरण भयो । पहिलो किस्ता ५० हजार लिएर घर बनाएको ८० वर्षिय सन्तमान तमाङले दोस्रो किस्ता यस अघि लिए पनि थप ५० हजार लिन आएको बताए ।
ओराङका १९९ जना र बुलुङका २१५ जनाले दोस्रो किस्ता समेत बुझिसकेका छन् । घर बनाएर तेस्रो किस्ता लिन योग्य धेरै भए तापनि तेस्रो किस्ता वितरणको काम भने सुरु भएको छैन । पुर्ननिर्माण प्राधिकरणबाट गाउँमा खटिएका इन्जिनियरहरुले अनुगमन गरी मूल्याङ्कन गरेर सिफारिसपछि उनीहरुले दोस्रो किस्ता लिएका हुन् ।
अन्यत्र सरकारले तोकेको मापदण्ड अनुसारको लाभग्राहीले ३ लाख मात्र अनुदान पाए तापनि ओराङ र बुलुङमा भने कारितास नेपालले ५० हजार थप रकम ढुवानी वापत दिएको हो । कारितास नेपालका दोलखाका संयोजक दलबहादुर शाहीले हाम्रो पुरानो योजनामै ५० हजार ढुवानी खर्च थप्ने भए तापनि सरकारी स्वीकृतिमा ढिलाइ भएकाले ढुवानी खर्च वितरण पनि ढिला भएको बताए ।
ओराङ गाविसका ४८४ लाभग्राही र बुलुङका ५ सय २४ घरधुरी भुकम्पले क्षति भएकाले घर निर्माण गरिरहेका छन् । दोलखाको ९ स्थानीय तह मध्ये विगू गाउँपालिकाको २ र ३ (साविकको ओराङ र बुलुङ गाविस) सम्पूर्ण घर निर्माणका लागि अनुदान र प्राविधिक सहयोगको जिम्मा कारितास नेपालले लिएको छ ।
कारितासले दुवै वडामा छुट्टा छुट्टा फिल्ड कार्यालय समेत राखेर घर बनाउन डकर्मी सिकर्मी तालिम, प्राविधिक पराशर्म, निरीक्षण, नक्सा तयारी लगायतका काम गर्दै आएको छ । त्यही कामलाई पुर्ननिर्माण प्राधिकरणबाट खटिएका इन्जिनियरहरुले अनुगमण गरी किस्ताका लागि सिफारिस गर्छ ।
भुकम्पबाट ओराङ र बुलुङ दुवै गाविस अति प्रभावित गाविस हुन् । पुर्ननिर्माण प्राधिकरणका अनुसार बुलुङमा ६ सय २४ र ओराङमा ४ सय ८४ लाभग्राही छन् । बुलुङ र ओराङका धेरै लाभग्राहीले दोस्रो किस्ता लिएर तेस्रो किस्ता लिन योग्य भएतापनि चाँडै मूल्याङ्कन गरेर तेस्रो किस्ता समेत वितरण गरिने कारितास नेपालका ओराङ संयोजक शम्भु ठकुरीले जानकारी लिए ।
कारितास नेपालले भुकम्प परिचय पत्रका आधारमा लक्ष्मी बैंकमा खाता खोलि दिएको छ । त्यसबापत पहिलो किस्ता लिंदै एटीएम कार्ड नै उपलब्ध गराएको छ । दोस्रो किस्ता लिन आउँदा भुकम्प पीडितलाई दिएको एटीएम कार्ड नं. र नागरिकता नं. राखेर बैंकका कर्मचारीले रुजु गरी सम्बन्धीत लाभग्राहीको मेसिनमा औंठा छाप लगाएर पक्का भएपछि रकम पाउँछन् । कुनै पनि किस्ता लिन आउँने लाभग्राह बैंकमा १ मिनेट भन्दा बढी उभिनु नपर्ने अवस्था भएको बैंकका कर्मचारी छन् ।
लक्ष्मी बैंकको सिंगटीमा शाखा नभए तापनि बैंकको आफ्नो सहायक कम्पनी लक्ष्मी लघु वित्त मार्फत रकम वितरण गर्दै आएको छ । रकम लिनका लागि लाभग्राहीहरुका लागि कारितासका कर्मचारीहरु समेत आफैं बसेर सहयोग गरेका छन् ।
भुकम्प पिडितहरुलाई घर निर्माणको लागि भन्दै कारीतास नेपालले दुई गाविसमा स्थानीयहरुलाई पहिलो किस्ता बापत पाँच करोड पचपन्न लाख रुपैया वितरण गरेका छन् । दोस्रो किस्तामा १५ करोड १२ लाख वितरण हुन्छ । गुनासोबाट थप भएकाहरुले पनि पाउँने छन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।