दोलखा जिससमा पाण्डे संयोजक हुने पक्का

 आवाज संवाददाता     १८ श्रावण २०७४, बुधबार

दोलखा, १८ साउन
दोलखा जिल्ला समन्वय समितिको संयोजकमा डबल पाण्डे हुने पक्का भएको छ । जिल्ला समन्वय समितिको लागि आउँदो साउन २४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । बुधबार बसेको एमाले दोलखाको बैठकले पाण्डेलाई संयोजक र सह संयोजकमा जिरीकी मनमाया जिरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेको स्पष्ट बहुमत भएकाले पाण्डे र जिरेलको पद सुरक्षित हुने भएको हो ।
पाण्डे नेकपा एमाले दोलखाका उप सचिव हुने भने कालिञ्चोक गाउँपालिकाको वडा सदस्य निर्वाचित हुन् । एमालेका सबै पदाधिकारी गाउँपालिका प्रमुखको उम्मेद्वार बन्दा पाण्डेले आफूले त्याग गरेर विनकुमार थामीलाई कालिञ्चोक गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएका थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि नेकपा एमालेको १४ मत रहेको छ भने काँग्रेस र माओवादी गठबन्दधनको ४ मत रहेको छ । नेपाली काँग्रेसका सभापति रुद्रबहादुर खड्काले जिल्ला समन्वय समितिमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेद्वारी दिने जानकारी दिए । पार्टी भित्र कसलाई कुन पदमा उम्मेद्वार बनाउने भन्ने छलफल चलिरहेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा दोलखाको ९ वटा मध्ये ७ वटा स्थानीय तहमा नेकपा एमालेले विजय हाँसिल गरेको छ । २ गाउँपालिकामा काँग्रेसले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ । एमाले भित्र जिल्ला समन्वय समिति संयोजकको दौडमा पाण्डे सहित भुवनसिं थापा र हिरा थोकर रहे पनि अन्ततः पाण्डेले बाजी मारे । एमाले भित्र जिसस संयोजकका लागि कुरा नमिलेपछि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पार्वत गुरुङ नेतृत्वमा जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष नरबहादुर श्रेष्ठ र सचिव भरत दुलाल रहेको एक कार्यदल बनाएको थियो । कार्यदलकै सिफारिसमा पाण्डेलाई पार्टीले संयोजक बनाउने निर्णय गरेको एमाले दोलखाका एक सदस्यले जानकारी दिए । तर केही एमाले नेताहरुले भने यो निर्णयलाई हुकुमी शासनको संज्ञा दिंदी विरोध गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।