पहिरोले सुरीमा ३ घर पुर्यो, ३० घर विस्थापित, लाकुरीडाँडामा बाटो फेरि अवरुद्ध

 आवाज संवाददाता     १६ असार २०७३, बिहीबार

दोलखा, असार १६/अविरल वर्षाका कारण दोलखाको उत्तरी गाविस सुरीमा पहिरोले ३ घर बगाएको छ भने ३० घर जोखिममा परेका छन् ।
पहिरोले सुरी ३ का दिनेश खड्का, चरित्र खड्का र लालकुमार खड्काको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिएका छन् । पहिरोमा आफ्नो अस्थायी आवाससँगै सम्पूर्ण सम्पत्ति र चौपाया समेत पुरिएपछि उनीहरुको विचल्लीमा परेका छन् ।
त्यसैगरी सुरी ३ का १५ परिवार र सुरी ५ का १५ परिवार गरी ३० परिवार पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । सुरी ३ र ५ नम्बर वडाको करिब ८० रोपनी जग्गामा लगाएको मकैबाली पूर्ण रुपमा नोक्सान भएको पनि प्रहरीले जानकारी दिएको छ ।
निरन्तरको झरीका कारण लाकुरीडाँडास्थित झिँगानमा पहिरोले आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । दुई दिनअघि अवरुद्ध भएकै ठाउँमा बाटो अवरुद्ध भएपछि काठमाडौँ जाने र काठमाडौँबाट आएका सवारी साधनहरु रोकिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।