जिसस दोलखाको उम्मेद्वार र मतदाता बराबर, एमालेको जित सुनिश्चित

 आवाज संवाददाता     २३ श्रावण २०७४, सोमबार

दोलखा, २३ साउन
जिल्ला समन्वय समिति दोलखाको निर्वाचन बुधबार हुँदैछ । बुधबारको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उम्मेद्वारहरुको दरखास्त दिएको छ । जिसस प्रमुख सहित ९ पदका लागि हुने निर्वाचनका लागि १८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जिससको मतदानका लागि मतदाता पनि १८ जना नै रहेका छन् ।
जिससको नेकपा एमालेले डबल पाण्डेको नेतृत्वमा उम्मेद्वारी दर्ता गराएको छ । एमालेको तर्फबाट उपाध्यक्षमा जिरी नगरपालिका ६ की मनमाया जिरेल, जिल्ला समन्वय समितिको सदस्यमा गौरीशंकर गाउँपालिकाका आईपि तामाङ, बैत्यस्वरकी कमलकुमारी कार्की, तामाकोसीकी गिता पोखरेल, मेलुङका बिदुर शर्मा, शैलुङका युवराज घतानी र भीमेश्वर नगरपालिकाका जितवहादुर श्रेष्ठ र मुरारी शिवाकोटीको उम्मेदवारी परेको छ । एमालेले सबै स्थानीय तह मिलाउन खोजे तापनि विगू गाउँपालिकाबाट कसैको पनि उम्मेद्वारी दिनेमा पनि समावेश गराएन ।
नेपाली काँग्रेसको तर्फवाट जिल्ला समन्वय समितिको प्रमुखमा वैत्यवर ६ का कुमार लामा ‘औतारी’ ले उम्मेद्वारी दर्ता गराएका छन् । कुमार २०५४ सालको स्थानीय निर्वाचनमा समेत जिविसको उपसभापतिका उम्मेद्वार हुन् । काँग्रेसको तर्फबाट सदस्य पदमा भीनपा २ का चरित्रकृष्ण जोशी, भीनपा ३ का सन्तोषी श्रेष्ठ, कालिन्चोक ९ का कमला खाती र बैत्यस्वरकी शर्मिला नेपालीको मनोनयन दर्ता भएको छ । यस्तै, नेकपा माओवादी केन्द्रवाट उपप्रमुख पदमा दिपेन्द्र बुढाथोकी र सदस्य पदमा तामाकोसी ३ का ईराज घिमिरे, सोही स्थानका भोजवहादुर महत र गौरीशंकरकी बिष्णुमाया विकको उम्मेदवारी परेको छ । यस अघि दोलखाको ७ वटा स्थानीय तहमा तालमेल गरेका काँग्रेस माओवादीले जिसस निर्वाचनमा समेत तालमेल गरेका छन् ।
जिसस निर्वाचनमा काँग्रेस माओवादी तालमेल गरेर निर्वाचनमा भाग लिए तापनि एमालेको जित सुनिश्चित जस्तै छ । बुधबार हुने मतदानमा एमालेका तर्फबाट १४ जना र संयुक्त प्यानलबाट ४ जनाको मत रहेको छ । जिसस निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् । दोलखाको ९ स्थानीय तह मध्ये ७ वटामा एमालेका प्रमुख उपप्रमुखले जित हाँसिल गरेका छन् । त्यस्तै काँग्रेसले २ वटा प्रमुख र माओवादी केन्द्रले २ उपप्रमुख पद जित हाँसिल गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।