युरेनियम अन्वेषणमा नयाँ तथ्य, मुस्ताङमा पेट्रोल र नुनखानी भेटियो

 आवाज संवाददाता     १६ असार २०७३, बिहीबार

मुस्ताङ, १६ असार

युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ पुगेको सरकारी टोलीले खानी फेला परेको दाबी गरेको छ । सरकारी टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले बताएको छ । खानी तथा भूगर्भ विभागले वि.सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।

“युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ”, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, “समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।” युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए । “यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ”, उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए । “नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो”, प्रमुख पौडेलले भने ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने बताए । “कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ”, उनले भने । दुई दिन अध्ययन गरेर सरकारी टोली बुधबार काठमाडौ फर्किइसकेको छ । रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF