जेटीएसमा प्रहरीको अश्रुग्यास, प्रहरी र विद्यार्थीहरु बीच झडप

 आवाज संवाददाता     २४ श्रावण २०७४, मंगलवार

दोलखा, २४ साउन
जिरी प्राविधिक शिक्षलयमा परिक्षार्थीको उत्तरपुस्तिका च्यातिएको बिषयलाई लिएर विवाद हुँदा प्रहरी र परिक्षार्थीहरु वीच झडप भएको छ । मंगलबार विद्यार्थीसँगको झडपमा प्रहरीले केही सेल अश्रुग्यास र लाठीचार्ज गरेको छ । झडपमा परी विद्यार्थी र प्रहरी तर्फ केही घाइते भएका छ्न् ।
बिद्यार्थीहरुले शिक्षालयको प्रशासन कक्ष तथा परिक्षा हलमा समेत तोडफोड गरेका छन् भने शिक्षालय भित्रै भएको झडप पछि शिक्षक तथा कर्मचारीहरु समेत त्रसित भएका छन् ।

प्राविधिक शिक्षालयमा बिद्यार्थी आन्दोलन भड्किने सम्भावना भएका कारण ईलाका प्रहरी कार्यालय मैनापोखरी र जिल्ला प्रहरी कार्यालयवाट समेत थप प्रहरी बल जिरी पठाईएको छ । शिक्षालय भित्रै प्रदर्शन गरिरहेका बिद्यार्थीहरुलाई प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले शिक्षालय बाहिर लिङ्कन बजारमा प्रदर्शन गरेका छन् । ३ वर्षे डिप्लोमा एनिमल साईन्स फिजिक्स प्रथम बर्षको परिक्षा दिईरहेका परिक्षार्थी रामकृष्ण भण्डारीले चिट चोरेको र त्यसलाई खोस्ने क्रममा उत्तरपुस्तिका च्यातिए पछि विवाद सुरु भएको हो । यद्धपि बिद्यार्थीहरुले परिक्षा गार्ड सुरेश आचार्य र सुपरिवेक्षक गोविन्द गौतमले जवरजस्ति परिक्षार्थीको उत्तरपुस्तिका च्यातिदिएको दावी गरेका छन् ।

उत्तरपुस्तिका च्यातिएको बिषयलाई लिएर विवाद भएपछि दिउँसो शिक्षालय प्रशासन र बिद्यार्थी वीच छलफल भएको थियो । छलफलमा बिद्यार्थीहरुले सुपरिवेक्षक र गार्ड माथि कारवाहीको माग गरेका थिए । तर, सहमति नजुटे पछि बिद्यार्थीले प्रशासन कक्षमा तालावन्दी गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो । परिक्षार्थी रामकृष्ण भण्डारी जिरी पशु विकास फार्ममा कार्यरत खरिदार समेत हुन् । यस्तै, सुपरिवेक्षक गौतम जिरी प्राविधिक शिक्षालयको निर्माण शाखाको प्रमुख र परिक्षा गार्ड सुरेश आचार्य शिक्षालयकै कम्प्युटर अपरेटर हुन् ।

जिरी प्राविधिक शिक्षालयमा साउन १८ देखि बिभिन्न संकायको परिक्षा चलिरहेको छ । उत्तरपुस्तिका च्यातिएको बिषयलाई लिएर झडप र तोडफोड भएपछि भोलि देखि हुने परिक्षा अन्यौलमा परेको छ । यद्धपि, शिक्षालय प्रमुख बिष्णुहरी अधिकारीले आजकै घटनाका कारण परिक्षा प्रभावित नहुने बताउनुभयो । उहाँले चिट चोर्ने परिक्षार्थी स्वयंले उत्तरपुस्तिका च्यातेको दावी गर्दै उनको हकमा सिटिईभिटिको परिक्षा सम्वन्धि विनियम र नियमावली अनुसार मुचुल्का उठाएर पठाउने जानकारी दिनुभयो । सिटिईभिटिको परिक्षा बिनियमावली २०७१ मा चिट चोर्ने वा उत्तरपुस्तिका च्यात्ने परिक्षार्थीको परिक्षा रद्ध वा एक बर्षसम्म परिक्षामा भाग लिन नपाउने व्यवस्था छ ।

तस्बिरः इश्वर दाहालको फेसबुकबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF