गाईखुरा महादेव मन्दिरको आकर्षण बढ्दै

 आवाज संवाददाता     २४ श्रावण २०७४, मंगलवार

टंकप्रसाद भण्डारी
दोलखा जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल मेलुङ्ग गाउँपालिका वडा नं. २ सुकाठोकरमा प्रसिद्ध तीन शक्ति भएका स्वयं उत्पन्न श्री गाईखुरा महदेव मन्दिर प्रतिको आकर्षण धेरै बढ्दै गएको छ । सदरमुकाम चरिकोटबाट ४ कोष पूर्वी दक्षिणी भेकमा पर्ने प्रसिद्ध मन्दिरमा शनिबार सोमबार विहीबारको दिन वेद चण्डी लाख बत्ती रुद्री गरी पुजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष क्रृषिराम दाहालले बताउनु भयो ।
तीन शक्ति भएका गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री गरी दर्शन तथा पुजापाठ गर्नाले अकालमा मृत्यु नहुने, चिताएको कुरा पुरा हुने, रोग व्याधी नलाग्ने, परिवारमा संधै सुख शान्ति मिल्ने, सपरिवार आएर सवालाख बत्ती बाले सुसम्पन्न भइने जनविश्वास रहेको छ । तीन अवतार भएको शिलामा जलधाराबाट दिएको जल, गाईको दुध शिलामा आफैं सोसिन्छ । साठी लिटर गाईको दुध आठ नौ घण्टासम्म भक्तजन आफै बसेर वेद, चण्डी, रुद्री गर्दा जलधाराबाट दिएको सबै दुध शिलामा नै सोसिएको भक्तजनहरुले नै बताउने गर्दछन् ।
देशविदेशमा भौंतारिएर लाखौं खर्च गर्दा पनि निको नभएको हरेक रोग लगाएत हरेक समस्याहरु तीन लिटर तिलको तेल बालेर दर्शन गरेपछि ठिक भएको पाईन्छ । नयाँ धार्मिक तिर्थस्थलको रुपमा विदाको दिनमा गाईखुरा महादेवको दर्शन गर्न विभिन्न क्षेत्रका धर्मावलम्बीहरु घुँइचो लाग्न थालेको छ । गाईखुरा महादेवको शिलामा बाघको पञ्जा, गाईको थुन, खुर, शिवलिङ्ग र दुई जिवित सर्प स्पष्ट देख्न सकिन्छ । मान्छेको जीवनमृत्युको कुनै भविष्यवाणी गर्न नसकिए पनि गाईखुरा महादेवको धार्मिक विधि अनुसार पूजा दर्शन गर्नाले धेरै ठूला संकट पर्दा पनि सबै जना सुरक्षित रहेको र कुनै समस्या झेल्नु नपरेको स्थानीय ८५ वर्षीय दिप बहादुर कार्कीले बताउनु भयो ।
मेलुङ्ग गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुसँग इच्छाशक्ति र आत्मबल हुने हो भने २ वर्ष भित्रमा मेलुङ्ग गाउँपालिकाका सबै वडामा डलरको कारोबार गर्न सकिने अवस्था रहेको गाउँ पालिकाका उपाध्यक्ष कल्पना भण्डारीले भनिरहनु भएको छ । किनकी यो गाउँपालिकामा पर्यटकको लागि साह्रै राम्रो भनेर पर्यटनविदहरुले नै आएर अध्ययन अनुगमन गरेर फर्केको ठाउँ हो । पवटीको मिर्गे, सुकाठोकरको काकालिङ्ग र मेलुङ्गडाँडामा रिसोर्ट खोल्न खोजिएको थियो ।
तर सडकको व्यवस्थापनमा राजनीतिक दलका नेताहरुले ध्यान दिन नसकेर उक्त योजनाहरु शुरुआत हुन सकेका छैनन् । गाईखुरा महादेव मन्दिरको विकासका गुरुयोजना बनाई तत्काल सुधार गरी धार्मिक पर्यटक अझ धेरै भित्र्याउन सकिने विज्ञहरुको भनाइ छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF