सातदोबाटो सडक र सुनकोसी पुलका ठेकेदार कालो सूचीमा

 आवाज संवाददाता     १६ असार २०७३, बिहीबार

डम्बर चौलागाई
दोलखा, १६ असार – सडकको ठेक्का प्रतिस्पर्धामा कागज जुटाएर काम लिने तर समयमा काम नगर्ने निर्माण व्यवसायीका फर्मलाई कालो सूचीमा पर्ने भएका छन् । डिभिजन सडक कार्यालय चरिकोटले २०६८ असार मसान्तदेखि २०६९ चैत मसान्तसम्म ठेक्का सम्झौता भएका ९ वटा ठेक्काहरु रद्ध गरी कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।
सडक डिभिजनले पटक—पटक कार्य सम्पादन गर्नका लागि ताकेता गर्दा पनि कतिपय सडक र पुलका ठूला फर्मले नै बेवास्ता गरेकाले कालो सूचीमै राखेर कारबाही गर्न बाध्य भएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख इन्जिनियर अशोक तिवारीले जानकारी दिए । दोलखा र सिन्धुपाल्चोकमा सडक र पुलका ठेक्का लिएर कार्य प्रगति गर्न नसकेका र म्याद थप गरेर पनि काम गर्न नसकेका फर्मलाई गत माघ ६ गते सार्वजनिक सूचना मार्फत स्पष्टिकरण माग गरेको थियो ।
सम्बन्धित निर्माण व्यवसायीहरुबाट स्पष्टिकरणपछि सार्वजनिक सूचनामार्फतै संशोधित कार्यतालिका सहितको प्रतिबद्धता समेत माग गरेको डिभिजन प्रमुख तिवारीले बताए । प्रतिबद्धता गरेको कार्यतालिका अनुसार पनि प्रगति नदेखिएपछि ठेक्का तोड्ने आयशको ७ दिने सूचना प्रकाशित गरेको छ । ७ दिनमा पनि सम्पर्कमा नआउने २ वटा फर्ममाथि कारबाही सुरु गरेको उनले बताए ।
चरिकोट सातदोबाटो सहरी सडक विस्तार कार्यको जिम्मा लिएका लोहनी एण्ड ब्रदर्श÷स्काई विल्डर्स जेभी र सिन्धुपाल्चोकको सियाले त्रिवेनीधामको सुनकोसी नदीमा स्टिल पुल निर्माणको जिम्मा पाएको बी।टी। फ्रेन्स श्रेष्ठ जेभी कालो सूचीमा पर्ने पक्का भएको छ । निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका यक्षध्वज कार्कीले जिम्मा लिएको सातदोबाटो सडक विस्तारको बारेमा सबैभन्दा बढी दबाब छ ।
सडक विस्तार ०७१ असार मसान्तमा काम सक्ने गरी २०७० बैशाख ९ गते सम्झौता भएको थियो । उक्त समयमा खासै प्रगति नभएपछि डिभिजन सडक कार्यालय चरिकोटबाट ६ महिना र सडक विभागबाट ६ महिना गरी २०७२ जेठ मसान्तसम्म म्याद थप भएको थियो । त्यसपछि म्याद समय थप भएको छैन ।
ठेकेदारले १ महिना अघि ग्राभेल विच्छाए पनि पुनः बीचैमा छाडेका छन् । वर्षात लागेपछि अहिले पनि सडक हिलाम्मे छ । सहरी सडकको लम्बाइ १ किलोमिटर र सडक पेटी सहित १५ मिटर चौडाइ छ । कार्की दोलखाबासी भए पनि जिल्लाकै सदरमुकाम कुरुप हुने गरी बेवास्ता गरिरहेकै बेला एमालेले पार्टीको विकास निर्माण विभागमा सदस्यमा मनोनित गरेको छ । त्यसको एमाले दोलखाका नेताहरुले चर्को आलोचना समेत गरेका छन् ।
सुनकोसी पुल २०६८ असार २४ मा सम्झौता भएकोमा २ वर्षमा पूरा गर्ने कार्यतालिका थियो । २ पटक म्याद थप भएर २०७१ असार मसान्तसम्म निर्माण व्यवसायी रामकाजी श्रेष्ठले समय लिए तापनि उनको पनि अहिलेसम्म प्रगति हुन सकेको छैन ।
मुडे– मेलुङ सडक विस्तार योजना पनि सन्तोषजनक प्रगति हुन सकेको छैन । असार मसान्तसम्म पूरा गर्ने गरी २ वर्ष अघि सम्झौता भए तापनि कुनै प्रगति हुन सकेको छैन । भुकम्पपछि यो योजनाको कुनै काम नभएको उपभोक्ताहरुले जानकारी दिए । मुडे मेलुङको ठेक्का द कन्चनजंगा÷लामा विल्डर्स जेभीले पाएको छ ।

बलेफी जलविरे तेम्बापान सडकमा स्टोन मेशेनरी ग्याबिन, पाइप कल्भर्ट तथा कालोपत्रे गर्ने कार्य तामाकोशी लामावगर चिन सिमाना सडक निर्माण कार्य लगाएत ६ ओटा सडक निर्माण कार्य सुचारु नै हुन सकेको छैनन् ।
लामाबगर बोर्डर सडकको २०६६ माघमा सम्झौता गरी २०६९ चैत मसान्तमा पूरा गर्ने गरी सम्झौता गरे तापनि उल्लेख्य प्रगति हुन सकेको छैन । लामाबगर बोर्डरको जिम्मा सुनौला खिम्ती कम्पनी र तामाकोसी तामाबगर चीन सिमाना सडकको जिम्मा रामेछाप न्युसताक्रि खिम्तीले लिएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF