जिरी प्राविधिक शिक्षालयको परीक्षा स्थगित

 आवाज संवाददाता     २४ श्रावण २०७४, मंगलवार

दोलखा, २४ साउन
जिरी प्राविधिक शिक्षलयमा परिक्षार्थीको उत्तरपुस्तिका च्यातिएको बिषयलाई लिएर विवाद हुँदा प्रहरी र परिक्षार्थीहरु वीच झडपपछि डिप्लोमा तहमा सञ्चालित नियमित परीक्षा स्थगित भएको छ । जिरी प्राविधिक शिक्षालयले मंगलबार एक सूचना जारी गरी सीटीभीटीको अर्को सूचना जारी नभएसम्मका लागि ३ वर्षे डिप्लोमा तहको भेटेनरी पहिलो वर्षको परीक्षा स्थगित भएको जानकारी दिएको छ । जिरी प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख विष्णुहरी अधिकारीले जारी गरेको सूचना अनुसार सीटीभीटीको मौखिक जानकारी अनुसार अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचना उनले जारी गरेका छन् ।
३ वर्षे डिप्लोमा एनिमल साईन्स फिजिक्स प्रथम बर्षको परिक्षा दिईरहेका परिक्षार्थी रामकृष्ण भण्डारीले चिट चोरेको र त्यसलाई खोस्ने क्रममा उत्तरपुस्तिका च्यातिए पछि विवाद सुरु भएको हो । यद्धपि बिद्यार्थीहरुले परिक्षा गार्ड सुरेश आचार्य र सुपरिवेक्षक गोविन्द गौतमले जवरजस्ति परिक्षार्थीको उत्तरपुस्तिका च्यातिदिएको दावी गरेका छन् । परीक्षार्थी र बाध्य निरीक्षक बीच कापी तानातान हुँदा उत्तर पुष्तिका च्यातिएपछि शिक्षालयमा तनाव भएको हो । तनावपछि शिक्षालयमा प्रहरीले अश्रुग्यास र हवारइ फायर समेत गरेको थियो ।

जिरी प्राविधिक शिक्षालयमा भएको घटनाको नेवि संघ दोलखाकाले भत्सना गरेको छ । नेवि संघ दोलखाका अध्यक्ष भीम खड्काले एउटा परीक्षाको नाममा विद्यार्थीहरुलाई भयको वातावरण सिर्जना भएको उनले बताए । भयरहित वातावरणमा प्राविधिक शिक्षालयको परीक्षा सुचारु गराउन र नियमित पठन पाठनको वातावरण सिर्जना गर्न शिक्षालय प्रशासनसँग उनले माग गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।