माथिल्लो तामाकोसी सेयर वितरणमा ढिलाइ

 आवाज संवाददाता     २७ श्रावण २०७४, शुक्रबार

दोलखाः माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने मिति नजिकिँदै गए पनि सेयर वितरणमा भने ढिलाइ हुँदै गएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई सेयर जारी गर्ने योजना आयोजना व्यवस्थापनको तयारी भए तापनि अहिले ढिलाइ हुँदै गएको छ ।

आयोजना व्यवस्थापन पक्षले गत आवभित्रै आयोजना प्रभावित स्थानीयवासीको तर्फबाट सेयर संकलन गर्ने योजना बनाएको थियो । स्थानीय तहको निर्वाचन, त्यसपछि आउने जनप्रतिनिधिको पर्खाइलगायतका कारणले पछिल्लो समय सेयर वितरणमा ढिलाइ भएको हो ।

नयाँ स्थानीय तहअनुसार जिल्ला समन्वय समितिको गठनमा ढिलाइ हुँदा पनि आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले दोलखावासीलाई सेयर जारी गर्न नसकेको हो ।

आयोजनामा दोलखावासीले जारी पुँजीको १० प्रतिशत सेयर पाउने गरी कम्पनीको सेयर संरचना बनेको छ । जिल्ला समन्वय समितिले सेयर वितरण प्रक्रिया पारित गरेपछि मात्रै कम्पनीले दोलखालीले पाउने १० प्रतिशत वितरण गर्ने व्यवस्था छ । स्थानीय बासिन्दाले पाउने सेयर वितरणमा ढिलाइ भएसँगै अन्य सर्वसाधारणले पाउने १५ प्रतिशत वितरणसमेत पछि धकेलिएको छ ।

आयोजनाको गत असार मसान्तसम्म ९०.५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । यो अवधिमा ३४ अर्ब ६४ अर्ब खर्च भइसकेको छ ।

सेयर समयमा नउठ्ने हो भने आयोजनालाई पैसाको अभाव हुन थालेको उनले बताए । आयोजनाको ३५ अर्ब २९ करोड पूर्व अनुमानित लागत भए तापनि डलरको मूल्य वृद्धि, बजारमूल्य वृद्धि, भूकम्प, नाकाबन्दीले समयावधि बढ्ने कारणले ४१ अर्ब ७२ करोड पुग्न सक्ने आयोजनाको पछिल्लो प्रक्षेपण छ ।

आयोजनाले पछिल्लो पटक अघिल्लो चैतदेखि सेयर वितरण गर्ने योजना बनाएको थियो । स्थानीयस्तरमा थप मोडालिटी बनाउनु पर्ने राजनीतिक दलका प्रतिनिधिहरूले आवाज उठाएपछि एक कार्यदल बन्यो, त्यसले समेत गत फागुनमै आफ्नो प्रतिवेदन स्थानीय संयन्त्रलाई बुझाइसकेको छ । चुनावपछि जनप्रतिधि आउने भन्दै स्थानीय संयन्त्रले जनप्रतिनिधि पर्खेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन अर्को साताका लागि तोकेको छ । कुनै असामान्य घटना भएन भने आउँदो साता जिसस दोलखाले संयोजकसहितका जनप्रतिनिधि पाउँछ । जिससमा जनप्रतिनिधि आउँने बित्तिकै पहिलो कामको रूपमा तामाकोसीको सेयर वितरणकै लागि ताकेता गरिने आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताए । जिसस र अन्य स्थानीय तहका पदाधिकारीसँग समेत छलफल गरेर जतिसक्दो चाँडो स्थानीयका लागि सेयर जारी गरिने उनले जानकारी दिए ।

अपर तामाकोसीको सेयर जारी गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नागरिक लगानी कोष र सह प्रबन्धकको रूपमा एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

धितोपत्र बिक्री प्रबन्धकले कर्मचारी र अन्य वित्तीय संस्थाका कर्मचारी, सञ्चयकर्तालाई सेयर निष्कासनपछि २०७१ साल चैत ८ गतेदेखि स्थानीयको सेयर निष्कासनको लागि सूचनासमेत जारी गरेर स्थगित भएको थियो । आयोजनामा कार्यरत मजदुरलगायतले आफूले पनि सेयर पाउनु पर्ने माग राख्दै आयोजनाको काम रोकेपछि १६ दिनसम्म आयोजनाको काम रोकिएको थियो ।

कसले कति पाउँछन् सेयर ?
जिल्लावासीले १ करोड ५ लाख ९० हजार कित्ता सेयर खरिद गर्न पाउने छन् । जिल्लावासीलाई १० प्रतिशत सेयर छुट्याइएको छ । जिल्लावासीले न्यूनतम ५० कित्ता र अधिकतम ७० कित्ता सेयर खरिद गर्न पाउने छन् । तर आयोजना रहेको लामाबगर र गौरीशंकर गाविसवासी आयोजनास्थलकै भएकाले अरुले भन्दा केही बढी पाउने छन् ।

धितोपत्र निष्कासन तथा बिक्री नियमावली २०७३ अनुसार आयोजना प्रभावितलाई १० प्रतिशत सेयर बिक्रीपछि मात्र सर्वसाधारणका लागि सेयर निष्कासन तथा बिक्री गर्ने उल्लेख छ । सोहीअनुसार दोलखावासीपछि आम सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला हुनेछ । सर्वसाधारणले १५ प्रतिशत अर्थात् १ करोड ५८ लाख ८५ हजार किक्ता पाउँछन् ।

धितोपत्र नियमावली २०७३ अनुसार यही साउन १ गतेदेखि साधारण सेयर भर्नका लागि बैंक खाता र डिम्याट खाता अनिवार्य गरिएको हुँदा तामाकोसी सेयरमा दोलखावासीलाई झन्झटिलो हुने भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।