राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४ बाट अनलाइनकर्मी सहित दोलखाका ५ युवा पुरस्कृत

 आवाज संवाददाता     २९ श्रावण २०७४, आईतवार

दोलखा, २९ साउन ।
दोलखा जिल्लावाट प्रकाशित आवाज अनलाइनमा सम्पादक मण्डल सदस्य तथा लेखक रोहितनाथ भण्डारी युवा प्रतिभा पुरस्कारवाट सम्मानित भएका छन् ।
‘नेपालमै सकिन्छ’ र ‘सम्भव छ’ नामका दुई पुस्तकका लेखक तथा पत्रकार भण्डारीलाई शनिवार एक समारोहकाबिच राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाख नगद सहित सम्मान गर्नुभएको थियो । सम्मानित भण्डारी जिल्लावाट प्रकाशित हुने आवाज अनलाइन, नवतरङ्ग साप्ताहिक तथा अन्य राष्ट्रिय सञ्चार माध्यममा क्रियाशिल पत्रकार हुन् ।
यस वर्षको युवा दिवसका अवसरमा भण्डारी सहित जिल्लाका पाँच जना युवाहरु राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । अन्तराष्ट्रिय युवा दिवस तथा राष्ट्रिय युवा सम्मान समारोहमा दोलखाका चार जना युवाहरुलाई राष्ट्रिय युवा प्रतिभा सम्मान र एक जना राष्ट्रिय बक्तृत्वकला प्रतियोगिताबाट सम्मानित भएका हुन् ।
यसरी राष्ट्रिय युवा सम्मान २०७४ बाट सम्मानित हुनेहरुमा दोलखा कालिन्चोक गाउँपालिका ९ का सञ्चारकर्मी तथा लेखक रोहित भण्डारी, वैत्यस्वर गाउँपालिका ६ नाम्दुकी सविता उप्रेती, गौरीशंकर गाउँपालिका ३ का रामु खत्री र गौरीशंकर गाउँपालिका १ बेदिङका पर्वताआरोही फूर्वा तेन्जिङ शेर्पा रहेका छन् भने भीमेश्वर नगरपालिका ४ की डेनिसा चौँलागाई राष्ट्रिय बक्तृत्वकला प्रतियोगितामा प्रथम हुँदै सम्मानित भएकी हुन् । भण्डारीलाई लेखन तथा पत्रकारिता, उप्रेतीलाई मानव सेवा तथा शिक्षा विधा, खत्रीलाई नयाँ खोज तथा आविस्कार र शेर्पालाई साहसिक युवा आरोहण पुरस्कार तथा चौंलागाईलाई राष्ट्रिय स्तरको बक्तृत्वकला प्रतियोगितामा प्रथम भए वापत सम्मान गरिएको हो । जस अनुसार राष्ट्रिय युवा प्रतिभा सम्मान पाउने चार जनाले जनही नगद एक लाख र सम्मान पत्र पाएका छन् भने बक्तृत्वकलामा प्रथम हुने चौंलागाईले नगद ५० हजार र प्रमाणपत्र पाएकी छिन् ।
यसरी राष्ट्रिय युवा प्रतिभा सम्मान पाउने भण्डारी सगरमाथा टेलिभिजन, आवाज अनलाइन, नवतरङ्ग लगायतमा सक्रिय छन् भने उनले ‘नेपालमै सकिन्छ’ र ‘सम्भव छ’ नामक पुस्तक प्रकाशित गरेर युवाहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास सिर्जना गर्न पे्ररित गरे वापत भण्डारीले राष्ट्रिय पुरस्कार पाएका हुन् ।
सविता उप्रेती लामो समयदेखि मानसिक तथा शारीरिक अपाङ्गता भएका वालवालिकाको क्षेत्रमा सक्रिय छिन् । उनले त्यस्ता वालवालिकाहरुलाई अध्ययनका लागि बिद्यालय सञ्चालन गर्नुका साथै उपचार समेत गर्दै आएकी छिन् ।
दोलखाको गौरीशंकर गाउँपालिका घर भई राजधानीको सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा अध्ययनरत रामु खत्री युवा वैज्ञानिक हुन् । उनले अध्ययनकै क्रममा हेलिकोप्टर बनाउनुका साथै ९० भन्दा बढी नयाँ आविस्कारको अभियानमा छन् । यस्तै, गौरीशंकर गाउँपालिका १ का आरोही फूर्वा तेन्जिङ शेर्पा लामो समयदेखि पर्वतारोहणमा सक्रिय छन् । उनले अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथालाई १२ पटक चुमिसकेका छन् । फूर्वातेन्जिङले २४ वर्षको उमेरमै ९ पटक, १८ वर्षको उमेरमा १० दिनमा २ पटक, सन् २००८ मा तीन दिनमा दुईपटक र सन् २०१७ मा पनि तीन दिनमा दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
भीमेस्वर नगरपालिका ४ घर भई राजधानीकै ट्रिनिटी कलेजमा अध्ययनरत डेनिसा चौंलागाई केही दिनअघि राष्ट्रिय युवा परिषद् र हिसान नेपालले आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयक राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी थिईन् ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।