दूधकुण्डमा पूर्वाधार अभाव

 आवाज संवाददाता     ३० श्रावण २०७४, सोमबार

सोलुखुम्बु : धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित दूधकुण्ड क्षेत्रको पदमार्गमा शौचालय तथा अन्य आधारभूत भौतिक संरचना नबन्दा तीर्थयात्रीलाई समस्या हुने गरेको छ ।

सोलुखुम्बुको नुम्बुर हिमालसँगै रहेको दूधकुण्डमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म ठूलो संख्यामा भक्तजन पुग्ने गरे पनि बासका लागि होटल तथा लज र शौचालयको पर्याप्त व्यवस्था छैन ।

बाटोमा पर्ने रिङमु गाउँसम्म व्यवस्थित घर तथा होटल भए पनि त्यसभन्दा माथिका पदमार्गमा शौचालयसमेत छैन । सदरमुकाम सल्लेरीबाट दूधकुण्डसम्म पुग्न पैदल ३ दिन र फर्कन २ दिन गरी ५ दिनसम्म लाग्छ । तर जंगलको चौंरीगोठको चिसो भुँइमा बास बस्नु परेपछि स्वास्थ्य समेत बिग्रने गरेको तीर्थयात्रीहरुको गुनासो छ ।

रिङमुदेखि दूधकुण्डसम्म एउटा पनि शौचालय नपाइएको र बाटो छेउमा फोहोर गर्नुपर्दा असहज भएको उनीहरुको भनाइ छ । प्रसिद्ध धार्मिक स्थलमा पुगेर जथाभावी शौच बस्नुपर्दा अप्ठ्यारो लागेको काठमाडौं याट्खाकी शर्मिला श्रेष्ठले गुनासो गरिन् ।

दिशापिसाब बगाएर पोखरीमा लैजाने र पोखरीकै पानी खाना पकाउनेदेखि पिउनेसम्म प्रयोग गर्दा माहामारी फैलने सम्भावना रहेकोमा तीर्थयात्रीको चिन्ता छ । सिन्धुपाल्चोकको बलेफीदेखि आएका अर्का यात्री विकास श्रेष्ठले भने, “त्यो ठाउँमा अलि धेरै दिन बसियो भने झाडापखला लाग्ने र महामारी फैलने निश्चित छ । यस्तो परिचित धार्मिक स्थल क्षेत्रमा पनि शौचालय नबनाउँदा दुःख लाग्यो ।”

रिङमुदेखि माथि केरुङपाटी, सरकारी पाटी, कामडाँडा, जोम्लेखोला, सश्राबेनी र दूधकुण्डमै समेत तीर्थयात्रीलाई बास बस्न अस्थायी टहरा बनाएर स्थानीयले सेवा दिएका छन् । तर चौंरीगोठको रूपमा रहेका ती टहरा व्यवस्थित नहुँदा हाइ अल्टिच्युटमा पुगेका तिर्थयात्री बिरामी पर्ने गरेका छन् ।

धार्मिक तीर्थयात्रामा विशेष गरी वृद्धवृद्धा पुग्ने गरेपनि चिसो सोत्तरमा सुत्नुपर्ने बाध्यता रहेको ओखलढुंगा रामपुरकी वृद्धा सोममायाँ दाहालले गुनासो गरिन् । दूधकुण्ड पदमार्गको सरसफाइमा सरकारले ध्यान नदिँदा सर्वसाधारणले सास्ती पाएका हुन् । सोही दूधकुण्डको नामबाट नगरपालिकाको नामाकरण भएपनि यसको संरक्षणमा सरकारले चासो नदेखाएको त्यस क्षेत्रका स्थानीयको गुनासो छ ।

आर्थिक वर्ष ०७२/०७३ मा सरसफाइका लागि १० लाख रुपैयाँ बजेट पर्यटन रोयल्टी मार्फत जिविसले विनियोजन गरे पनि कामै नगरी बजेट फ्रिज भएको जिसस लेखा शाखाका कर्मचारी फुरी शेर्पाले बताए । त्यसयता अहिलेसम्म दूधकुण्ड क्षेत्रको सरसफाइका लागि कुनै योजना बनाएको नपाइएको स्थानीय अगुवा फडिन्द्र कार्कीको भनाइ छ ।

दूधकुण्डमा मेला वा धार्मिक पूजामा मात्रै नभई अन्य समयमा पनि पर्यटक आउने गर्छन् । तर, यसरी आउने पर्यटकको संख्या न्यून छ । वार्षिक ३५ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिने सोलुमा दूधकुण्डमा भने नगन्य मात्रामा पुग्ने गर्छन् । यसको एउटा कारण पूर्वाधार अभाव पनि हो ।

लुक्ला विमानस्थल हुँदै खुम्बु क्षेत्रलाई मात्रै पर्यटकीय पदमार्गको रूपमा प्रचारप्रसार गरिएको तर एउटै जिल्लामा पर्ने यी महत्वपूर्ण स्थलहरुको भने कसैले चासो नदिएको दूधकुण्ड सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फु ग्याल्जेन शेर्पाले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।