जहाँबाट अनुदान सुरु भयो, त्यही छैन

 आवाज संवाददाता     २ भाद्र २०७४, शुक्रबार

दोलखा, २ भदौ
विगू गाउँपालिका ४ सिंगटीका पदम पाण्डे २०७२ बैशाख २९ गतेको विनासकारी भुकम्पको बेला घरमै थिए । उनी त्यो बेला आफ्नो घरको पसलमा थिए । भुकम्पले घर क्षति भयो तर धन्न उनी बाँच्न सफल भए ।
अहिले त्यही भुकम्पले क्षति भएको घर मर्मत गरेर व्यवसाय त सुचारु गरे तर घरमाथिको पहिरो लडिरहने चिन्ताले रातमा बास अन्यत्रै हुन्छ । उनले डेढ वर्ष अघि घर निर्माणका लागि पुर्ननिर्माण प्राधिकरण मार्फत पहिलो किस्ता ५० हजार पनि पाए । तर घर बनाउँन पाएका छैनन् । उनले घर बनाउँन जग्गा नभएर होइन सम्बन्धी निकायले अनुमति नदिंदा भएको अर्को जग्गामा समेत घर बनाउन पाएका छैनन् ।
सिंगटीमा पाण्डे एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौं परिवारले सिंगटीमा सरकारी अनुदान प्रयोग गरेर घर बनाउन पाएका छैनन् । भूकम्प पीडितहरु मध्ये देशकै पहिलोपटक स्थायी आवासको सम्झौता गरी पहिलो किस्ता प्राप्त गर्ने जिल्लाको उत्तरी व्यापारिक केन्द्रका बासिन्दा अहिले आएर निरास छन् ।
दोलखाको सबैभन्दा बढि भूकम्पले क्षेती पु¥याएको भनिएको यो बजार अझै पनि जोखिमयुक्त छ भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ता उपलब्ध गराउन आनाकानी गरेपछि उनीहरुमा निरासा आएको हो । अर्कोतर्फ, यहाँका बासिन्दालाई सरकारले दिने आवास निर्माणबापतको अनुदान लिन अर्को जिल्ला धाउनु पर्ने सास्ती त छदैछ ।
दुईतर्फबाट बगेको खोलाको बहाव थेग्नुपर्ने यो बजारलाई चारैतर्फको भीरको चुनौती छ । यस्तै चुनौती देखाएर जिल्लाको तीन ठूला बिगु, गौरीशंकर र कालिञ्चोक गाउँ कार्यपालिकाको विनियमय केन्द्र सिंगटी बजारलाई जोखिमयुक्त सूचीमा राखिदिएपछि प्राधिकरणले दोस्रो किस्ता दिन रोकेको हो । ‘घर बनिसकेको तर दोस्रो किस्ताबाट विमुख करिब एकसय भूकम्पपीडित होलान,’ दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका कोषाध्यक्ष समेत रहेका व्यापारी महेश श्रेष्ठले बताए । जोखिम भनिए पनि भूकम्पपछि यहाँ ठूलाठूला पक्की भवनहरु निर्माणाधिन छन् ।
जलविद्युत् आयोजनाहरुका कारण सिंगटी बजार भूकम्पले तहसनहस पारे पनि केही समय पछि नै गुलजार बनेको थियो । २०७२ वैशाख २९ गतेको भूकम्पको केन्द्रविन्दु यो बजार नजिकै परकाले बढि क्षेती भएको हो । बजार थिग्रिदै गर्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख सुशिल ज्ञावलीले निजी आवास अनुदान सम्झौताको सुरुवात सिंगटीबाटै गरेका थिए । डेढ वर्ष अघि ज्ञावलीको हातबाट सम्झौतापत्र पाएका पीडितहरुले नै दोस्रो किस्ता प्राप्त सकेका छैनन् ।
यहाँका करिब साढे तीन सय होटल र पसलमा दैनिक करिब एक हजार जनाको आउजाउ हुन्छ । नागरिकतासमेत प्राप्त गर्न सकिने इलाका प्रशासन, सरकारी अस्पताल, केही निजी स्वास्थ्य केन्द्रहरु, बैंक, लघुवित्त र सहकारीको कारोबारले यो बजारलाई चमक थपिदिएको छ । गौरीशंकर संरक्षण क्षेत्रको केन्द्रीय कार्यालय, क्याम्पस र निजी विद्यालयहरुका कारण यहाँ मानिसहरुलाई आउनै पर्ने बाध्यता छ ।
‘सबैतिरको केन्द्र पर्ने यस्तो ठाउँका भूकम्पपीडितलाई दोस्रो किस्ता उपलब्ध गराउन प्रयास भैरहेको छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखा कार्यालयका प्रमुख सागर आचार्यले बताए । उनले भने, ‘प्राविधिक प्रतिवेदनअनुसार सडक सीमा र खोला किनारका जोखिम बस्ती उल्लेख भएपछि सिंगटीका केही घरपरिवारलाई दोस्रो किस्ता रोकेको हो ।’ सिंगटीमा बस्ती राख्ने अनुमति दिने नदिने बारेमा गाउँपालिका कार्यालयहरुबाट माग आए जस्ताको तस्तै केन्द्रमा पठाइदिन्छु भन्दा पनि अहिलेसम्म माग नै नआएको बताए । अहिले सुरक्षित बासका लागि भीरबाट १० मिटर टाढा र खोला तथा नदीबाट ५० मिटर टाढा मात्र आवास निर्माण गर्न पाउन व्यवस्था गरेको छ । यो नियम लागू भएमा सिंगटीका लादुकतिरको बजारमा कुनै पनि घर नै बनाउँन मिल्दैन ।
च्छोरोल्पा हिमताल हानी भएमा र बाढीपहिरो आएमा बजारमा खतरा हुनसक्ने भनिएपछि भखैरै जलउत्पन्न प्रकोप डिभिजन कार्यालयले करिब १५ करोडको परियोजना सुरु गरेको छ । डिभिजन प्रमुख नारायणप्रसाद सुवेदीले सिंगटी बचाँउन हालसम्म करिब ६ करोड खर्च भैसकेको बताए । पहिरो रोकथाम गर्न खतरा भनिएका भीरहरुमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले काम गरिरहेको छ ।
विगु गाउँपालिका— ४ अन्तर्गत पर्ने सिंगटीमा गएको वैशाखमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेल पनि आएका थिए । उनले तत्काल दोस्रो किस्ताको व्यवस्था मिलाइदिने आश्वासनसमेत दिएका थिए । विगू गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले सिंगटी क्षेत्रमा विगतका प्रकोपको इतिहाँस हेर्दा पनि सँधै जोखिम हुने बताए । बजार केन्द्र भएकाले धेरैले धमाधम आफूखुशी घर बनाइरहेकाले बस्न योग्य हो होइन भन्ने बारे प्राविधिक रुपमा स्पष्ट निर्देशन चाँडै दिनु पर्ने उनले बताए ।
सिंगटी बजार सिंगटी खोला वारी र पारी पर्छ । तामाकोसी किनारमा रहेको बजारमा सिंगटी खोलाले विगू र कालिञ्चोक गाउँपालिका छुट्याएको छ । कालिञ्चोक गाउँपालिका भन्दा पनि विगू गाउँपालिका क्षेत्रमा पर्ने बजार बढी जोखिममा छ । भुकम्पले पनि विगू गाउँपालिका क्षेत्रको बजारमै बढी क्षति पु¥याएको थियो । बैशाख २९ गते १७ जनाको सिंगटीमा मात्र ज्यान गएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF