फेसबुकमार्फत संकलित रकम पीडितलाई

 आवाज संवाददाता     २ भाद्र २०७४, शुक्रबार

दोलखा, २ भदौ

धेरैले फेसबुकलाई मनोरञ्जनको रुपमा चलाउँछन् । कतिपयले फेसबुक जस्ता सामाजिक सञ्जाल सूचना आदनप्रदानको रुपमा सञ्चालन गर्छन् । तर कतिपय यस्ता नागरिकहरु छन् जसले त्यसलाई सामाजिक सेवाको रुपमा पनि उपयोग गर्दै आएका छन् ।
केही दिन अघि तराई मधेशमा बाढी र डुबानमा परेर हजारौं घरबार विहीन भएको अवस्थामा तिनै पीडितहरुका लागि लक्षित गरी फेसबुकमा अभियान सञ्चालन गरी राहत संकलन हुँदै आएको छ । आफ्नो पेशाको अलावा अतिरिक्त समयलाई उपयोग गर्दै दोलखाकी एक पत्रकार निता राउतले त्यही फेसबुक मार्फत अभियान संकलन गरिएको ४१ हजार १२० बाढी पीडितको सहयोगार्थ हस्तान्तरण गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत नै विपन्न र पीडितहरुका लागि लामो समयदेखि रकम संकलन गरी सहयोग गर्दै आएकी पोखराकी सरीता गुरुङमार्फत नै सहयोग गर्ने गरी उनले शुक्रबार उनकै नाममा उक्त रकम आइएमई गरी पठाएको राउतले जानकारी दिइन् । गुरुङले सरिता गुरुङ फाउण्डेसनमार्फत तराईको बाढीपीडितकै लागि फेसबुक अभियानबाट राहत संकलन गरिरहेकी छिन् । गुरुङले पत्रिकामा आएको समाचारकै भरमा फेसबुक अभियानबाट देशविदेशबाट लाखौं रकम संकलन गरी दोलखाका विपन्नहरुलाई समेत सहयोग गर्दै आएकी छिन् ।
राउतले ३ दिनमा फेसबुक अभियानमार्फत रकम संकलन गरिएको जानकारी दिइन् । राउत नेपाल पत्रकार महासंघकी पार्षद तथा क्रियाशिल पत्रकार महिला दोलखाकी अध्यक्ष समेत हुन् । ‘मलाई विश्वास गरेर सहयोग गर्नेहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु’ राउतले फेसबुकमा स्टाटस लेखेकी छिन् ‘दुखको समाचार मात्र नलेखेर दुखी लै सहयोग गर्ने उदेश्यले, म आफैले व्यक्तिगत रुपमा समेत बाढीपीडितलाई रु५००५। सहयोग गरेको छु ।’
उनले दोलखा जिल्ला तामाकोशि गाउपालिका वडा नं. २ का केदार कार्कीको उपचारार्थ समेत रकम संकलन गरेको जानकारी दिइन् । दुवै मृगौला फेल भएको र प्रत्यारोपण गर्नको लागि आर्थिक अवस्था कमजोर रहेकोले फेसबुक अभियान मार्फत नै रकम संकलन गरेको उनले बताइन् । कार्कीको उपचारार्थ अहिलेसम्म रु १ लाख १२ हजार १२४ रकम उठेको जानकारी दिइन् । उठेके रकम कार्कीको सल्यक्रियाको समयमा हस्तान्तरण गर्ने बताइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।